काठमाडौँ । नेकपा (माओवादी–केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र गणतन्त्र सिध्याउन अध्यादेश ल्याएको भए पनि वर्तमान सरकारको अध्यादेश ल्याउनु उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नु रहेको बताउनुभएको छ ।
२०७८ भदौ ३ गते समाजवादी–केन्द्र, नेपालले आयोजना गरेको “एक्काइसौँ शताब्दीको माक्र्सवाद र समाजवाद” विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले पहिलेको र अहिलेको अध्यादेशमा आकाश–जमिनको फरक रहेको दाबी पनि गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र सिध्याउनु, संविधान सिध्याउनु, गणतन्त्र सिध्याउनु थियो । अर्को अध्यादेशको उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नु छ । यो दुई वटामा आकाश–जमिनको फरक छ भन्ने बुझ्न जरुरी छ ।’
प्रचण्डले माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टीको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने पनि बताउनुभयो । उहाँले नेता माधवकुमार नेपालले दर्ता गरेको नयाँ पार्टीको सनाखत हुनासाथ एकैदिनमा मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको हो । यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, नेता नेपाल र आफूबिच बिहिवार बिहानको भेटमा समझदारी बनिसकेको पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘नयाँ परिस्थिति बनेको छ । आज बिहान मात्रै प्रधानमन्त्रीजी, माधव नेपालजी र म बसेका पनि थियौँ । अब मन्त्रिपरिषद् बिस्तार गर्न ढिलो गर्नु हुँदैँन, तुरुन्तै टुङ्ग्याउनुपर्छ भनेर । बिहान सबै पार्टीका नेताहरूको के समझदारी बनेको छ भने यो दर्ता भएको पार्टीको सनाखत हुनेबित्तिकै एकैदिनमा मन्त्रिपरिषद् टुङ्ग्याइदिनुपर्छ भन्ने कुरा भएको छ । जति छिटो उहाँको सनाखत हुन्छ, त्यति छिटो मन्त्रिपरिषद् बिस्तार हुन्छ ।’