काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकामा लापरवाही बढ्दै गएको भन्दै कडा निषेधाज्ञा लागू गर्ने चेतावनी दिएको छ । लापरबाही बढ्दै गए पुनः कडा निषेधाज्ञामा जान बाध्य हुनेप्रति प्रशासनले सचेत गराएको हो ।
अहिले संक्रमणदर बढ्दै गएसँगै आम मानिसले लापरबाही पनि गर्न थालेकाले निषेधाज्ञा थप गर्नुपरेको उपत्यका प्रशासनले जनाएको छ । यससँगै काठमाडौंका तीन वटै जिल्लामा आजदेखि ८ बजेपछि अत्यावश्यक सेवा बाहेक सबैलाई हिँडडुल÷आवतजावतमा रोक लगाइएको छ ।
काठमाडौं जिल्ला प्रशासनले सर्वसाधारणले मास्क लगाए, नलगाएको अनुगमनलाई तिव्रता दिएको छ । नेपाल सरकारले व्यक्तिगत रुपमा मास्क लगाउन प्रोत्साहित गर्न देशैभरी ‘तपाइको मास्क खोइ’ भन्ने अभियान चलाएसँगै प्रशासन कार्यालयले मास्कको प्रयोगमा अनुगमन गरेको हो ।
काठमाडौंको मुख्य–मुख्य चोकमा बाटोमा हिड्नेदेखि सार्वजनिक सवारी साधनमा रहेका व्यक्तिहरुले मास्क लगाए, नलगाएको अनुगमन गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा निरन्तर अनुगमन भइरहेको छ ।
मास्कको प्रयोग उचित ढंगले नगर्ने, गुणस्तरको प्रयोग नगर्ने, सकेसम्म प्रयोग नै नगर्ने चलनले जोखिम बढाएको गुनासो आउन थालेको सहायक प्रजिअ अधिकारीले बताउनुभयो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मानिसको भीडभाड हुने सबै क्षेत्रमा निरन्तर अनुगमन गर्ने उहाँले बताउनुभयो ।