काठमाडौँ । आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुगेकाले आगामी साता देशभर मनसुन सक्रिय हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका मौसमविद समीर श्रेष्ठले भन्नुभयो– ‘अबको केही दिन देशका धेरैजसो स्थानमा वर्षा हुने छ । वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने छ ।’
उहाँका अनुसार वर्षा निरन्तर एकै ठाउँमा नभई फरक फरक दिन फरक स्थानमा हुने औँल्याएको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं. १, बागमती, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं. १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार २०७८ साउन २८ गते काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव छ डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै साउन २८ गते सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३६ दशमलव छ डिग्री सेल्सियस रहेको छ ।