मिनबहादुर राना ##
महारानीको देशबारे
एकादेशको कथा जस्तै सुनेको थिएँ
केकन होला… लागेको थियो
तर
उस्तै हो माटो, उस्तै हो खोला र पानी उस्तै हो
सुखदुख, हाँसो रोदन जीवनको मदानी उस्तै हो
भाषा फरक भए पनि तमासा उस्तै हो
घाम उही हो, छायाँ उही हो
आफन्त र साथीभाइको माया उही हो
उस्तै हो
देख्नलाई त केही कोही गोरा छन् कोही काला छन्
कोही गोरा भएर पनि अँध्यारा छन्
कोही काला भएर पनि उज्याला छन्
कोही धेरै कमाउने र कहिल्यै नरमाउनेहरू छन्
कोही सधै सबै गुमाउने र सधैँ रमाउनेहरू छन्
उही हो सहरका झिलिमिली रहर
उस्तै छन् गाउँका सुनसान डहर
अरू बेला ठुला ठुला कुरा भुक्ने र
परेको बखत् लुक्ने हाम्राहरू उस्तै छन्
दिन परे ज्यान जाने र
लिन परे लाज नलाग्ने राम्राहरू पनि उस्तै छन्
हरेक मानिसको भोक र प्यास उस्तै छ
सबैमा भविष्यको अत्यास उस्तै छ
केही घर बिर्सेका र केही थर बिर्सेका
केही देश बिर्सेका र केही भेष बिर्सेका
एक हुल चराहरू छन्
हरेक सास र गासमा
यो कुहिरेको देशबाट कुहिरे भिर सम्झेर
खोला, खर्क, बारी र तारी खेत सम्झेर
टिलपिल टिलपिल हुने एक हुल बिचराहरू छन्
गरिबले त
मन खोलेर हाँस्न, कहाँ पो पाउँछ र ?
थाँतथलो छोडेर हिँडेकालाई
कसैले सुन्ने गरी काँस्न कहाँ पो ठाउँ छ र ?
गर्नुसम्म दुःख गरेर यस्सो कोठेबारी र
यत्रो सानो बालुवाको थुप्रो त हो बनाएको
संसारै सकारे जस्तो गर्छन्
चरामुसाको जीवन जिएर
केकन लखारे जस्तो गर्छन्
खुबै गरेकाले
पसिना ढुङ्गा र धातुसित साट्ने त हो
तोलाएक सुन लगाएको कानले
सुनजस्तै कुरो सुन्न खोजे कस्तो हुन्थ्यो
धान्न सकेको फुली भिरेको नाकले
सुनको गन्ध थाहा पाए कस्तो हुँदो हो
सुनका दाँतहालेको मुखले
सुनकै वचन गरे कस्तो हुन्थ्यो
सुनका दाम्ला बेरिएका कण्ठले
कर्कश क्यार क्यारलाई बाँधे कस्तो हुँदो हो
बेरुवाले बेरिएका हात
सुनौला कामका लागि फुके कस्तो हुँदो हो
उस्तै हो
सुनमा पत्थर जसरी जचेको छ
मान्छेको मन पनि उसैगरी पत्थर भएको छ
खान र पिउनमा मस्तहरूले कमाएर के गर्ने
गर्ने खाने मर्ने जाने त रहेछ ?
लक्ष्यविहीनहरू जहाँ पनि उस्तै रहेछन्
यहाँ पनि र त्यहाँ पनि
एउटा कुरो त अझ दुरुस्तै छ
हुनेहरू ढोकामा पाले राखेर
आनन्द निदाउन निदको टप्लेट खाएका हुन्छन्न्
नहुनेहरू जहाँ जसरी पनि आनन्द निदाएका हुन्छन्
(हाल प्लमस्टिड, लन्डन)