डा. गोविन्दप्रसाद आचार्य ##
हाम्रो सिपमा गौरव गर्र्न हामी किन नपाउने ।
कारण के छ देउता मूर्ति हाम्ले पुज्न नपाउने ।।
पुज्न मात्र कहाँ हो र हेर्न पनि नपाउने ।
दलालहरू हाम्रो सिप विदेश लगी कमाउने ।।
मन्दिरमा मूर्ति छैन हाम्रो सिप चोरियो ।
हाम्रो सिप हेर्न खोज्दा बन्दुक सोझाइयो ।।
फोर्ने हुन् कि टाउका भन्दै डरले पर हटियो ।
डराएर बस्नाले त पछि परियो ।।
मन्दिरबाट मूर्ति चोरलार्ई पाप किन नलाग्ने ।
बनाउनेले पुज्न खोज्दा बन्दुक देखाउने ।।
हाम्लाई हान्ने लौरो खोसी तिन्कै ढाड भाँच्ने हो ।
संसारमा देउता भए सबले पुज्ने हो ।।
शासक हुन सिप चोर्ने मूर्ति चोर्ने तिनै हुन् ।
कसैलाई छुन दिन्नौँ भन्ने तिनै हुन् ।।
बद्लिएको शासन सत्ता अझै देशमा आ’छैन ।
मूर्ति चोरलाई लखेटेर नल्याइ भा छैन ।।
कथित नयाँ घुमाइफिराइ त्यै सत्तामा बस्या’छन् ।
अनेक थरि नाटक रच्दै तिन्ले ठग्या’छन् ।।
देश अघि जान दिन्नन् यी दलाल साँढाले ।
सधैँ गरे जुँगा लडाइ गर्छन् घाँडाले ।।
बनाउनेले देउता मूर्ति पूज्दा हुन्छ पाप किन ।
चोर्नेहरू मूर्ति कुच्दा हुन्छ धर्म किन ।।
मूर्तिचोरलार्ई चिनेका छौ पूजारी हो बोल ।
दुःख दिए अझै दिन्छन् तिनको पोल खोल ।।
मूर्तिहरू हराए भन्न जनता डराए ।
मूर्तिचोरका बन्दुकसँग साँच्चै डराए ।।
विचारले नयाँ देश बन्न सक्या छैन ।
कलाकृति मूर्ति चोर्ने शासन गा’कोे छैन ।।
नयाँ भन्ने क्रान्तिकारी उतैतिर लागे ।
शासकसँग डराएर बन्दुक फाली भागे ।।
देश बेच्ने शासकले कला कृति के राख्लान् ।
आशा गर्नु धिक्कार हो देश बनाउलान् ।।
मूर्तिचोरलाई जेलभित्र बनाउनेले हाल्ने हो ।
देशलाई काम नलाग्नेलाई किन पाल्ने हो ।।
भित्रबाट बेचिसके कलाकृति रहेनन् ।
अग्रगति विकासमा दश लाँदैनन् ।।
धनजति भए पनि नपुगेका कङ्गाली ।
शासन गर्ने जनता हुन् यिनलार्ई निकाली ।।
मन्दिर हेर्न हिँड्छन् राति कुन मूर्तिलाई चोर्ने हो ।
भन्सार छली मूर्तिहरू कहाँ बेच्ने हो ।।
दल आयो तर सत्य बोल्ने पालो आएन ।
हाम्रो सिपले बनाएका मूर्ति रहेन ।।
मन्दिरभित्र सिपको गौरव मूर्ति छैन चोरियो ।
हाम्रो गौरव सिप चोर्नेका फेला परियो ।।
कतिन्जेल बस्ने जनता मूर्तिचोरको शासनमा ।
लास राख्नुहुन्न अब सत्ता कुर्सीमा ।।
कैले जीवन लासले खाए कैले रोगको हैैरानी ।
शासकमा भिन्न छैन सधैँ हैरानी ।।
विगत र वर्तमानमा हाम्रो जीवन हैरानी ।
जीवन हुँदै गयो हाम्रो लासको कहानी ।।
मन्दिरका दिवार छानो उखेलेर बेच्या छन् ।
वर्तमानमा कलादेखि मान्छे बेच्ने अभियान ।।
राति मूर्ति चोरेका छन् दिनमा नाटक पुज्या छन् ।
सत्यनास भयो कला जन्ता ठग्या छन् ।।
जनताको आँखा छल्न अनेक जुक्ति झिक्या छन् ।
कलाकृति मूर्तिहरू यिनले बेच्या हुन् ।।
किन्ने मान्छे भए यिनले बाउको चिना बेच्ने छन् ।
चिना बेच्नु तम्सिनेले मूर्ति के राख्लान् ।।
क्रान्ति भन शान्ति भन सम्झौता जे भन्ने हो ।
केही भाको छैन यहाँ अब हुने हो ।।
खन्चुवाको सत्ता खाने अवसर क्रान्ति मानिन्न ।
जन क्रान्ति पक्कै हुन्छ अब रोकिन्न ।।
मूर्तिचोरलाई शासनबाट नफाली त भा छैन ।
न्याय दिने जनक्रान्ति नआई भा’छैन ।।
हाम्रा मूर्ति चोरी लगे भन्सार छली विदेशमा ।
के पुज्ने हो मूर्ति छैन रित्तो मन्दिरमा ।।
बाउबाजेको इतिहास हाम्रो सिपका मूर्ति हुन् ।
मूर्ति बेची कमाएका राष्ट्रघाती हुन् ।।
खराबीलाई सिञ्चित गरी मलजल गर्ने शासक हुन् ।
यस्ताबाट के बज्ला र देशमा शान्तिधुन ।।
किसानले मूर्ति बेच्यो आँट कसको भन्नलाई ।
मजदुरले भन्सार छल्यो हिम्मत कसको भन्नलाई ।।
शासकका धन मूर्ति जनताका देउता हुन् ।
देउता बेच्ने जन्ता हैन देशका शासक हुन् ।।
आस्था छैन ठग्नलाई मन्दिरतिर धाउँछन् ।
राम्रो मूर्ति कहाँ होला चोर्न हिँड्या हुन् ।।
बनाउनेले छुन पुज्न केही गर्न नहुने ।
बनाउनेको सिपका मूर्ति चोरी पठाउने ।।
बनाउनेले खोस बस चोरका घरमा नछोड ।
छोड्नुहुन्न देश अब आँट नतोड ।।
मूूर्ति मात्र कहाँ हो र मन्दिरका कलामा ।
उखेलिँदा रुन्छ मन आँसु गालामा ।।
सत्य हाम्रो सिपका मूर्ति मन्दिरबाट लैसके ।
हाम्रो खुन पसिनामा धनी भइसके ।।