काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय समिति बैठकले २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
साउन ३ गते संसदमा पार्टी निर्णय विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई अनुशासनको कारबाहीस्वरूप स्पष्टीकरण सोध्ने निर्णय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
देउवालाई मत दिनेमा एमाले सांसदहरूमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुङ्खे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ रहेका छन् ।
त्यस्तै, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, बिना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरू, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका थिए ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकलाई सम्बोधन गर्दै पार्टीअध्यक्ष ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव राखेका थिए । बैठक भोलिसम्मका लागि स्थगित भएको छ।
बैठकमा नेपाल समूहका नेताहरू सहभागी भएका थिएनन् भने माओवादी–केन्द्रबाट एमालेमा आएका रामबहादुर थापालगायतका नेताको उपस्थिति थियो ।