काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय र पाकिस्तानी समकक्षीले बधाई दिएका छन् । देउवाले विश्वासको मत पाएलगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई तथा शुभकामना दिनुभएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वासको मत प्राप्त गर्ने वित्तिकै आइतबार राति नै ट्वीट गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनुभएको थियो । उहाँले नेपाल भारतबीचको सम्बन्धलाई अझ सशक्त बनाउन काम गर्न प्रतिक्षारत रहेको सन्देशमा बताउनुभएको छ ।
‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफल कार्यकालको कामना। सबै क्षेत्रमा रहेको अद्वीतीय साझेदारीलाई अझ मजबुत बनाउनका लागि तपाईसँग काम गर्न प्रतिक्षारत छु र जनता जनताबीचको गहिरो सम्बन्धलाई सशक्त बनाउनु छ’ मोदीको सन्देशमा उल्लेख छ ।
प्रधानमन्त्री नियुक्त हुने वित्तिकै देउवालाई मोदीले बधाई नदिएको विषयलाई चासोका साथ हेरिँदै आएको थियो।
यस्तै, प्रधानमन्त्री देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई तथा शुभकामना दिनुभएको छ । उहाँले सोमबार बिहान ट्विटरमार्फत प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिनुभएको हो ।
‘पाकिस्तान नेपालसँगको सौहार्दपूर्ण सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र साझा चासोका विषयमा नजिक भएर कामलाई निरन्तरता दिन चाहन्छ,’ खानले भन्नुभएको छ ।
प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त नगरुन्जेल भारत र पाकिस्तानले बधाई दिएका थिएनन् । प्रधानमन्त्री देउवालाई खासगरी भारतले बधाई नदिएको विषयमा राजनीतिक वृतमा विभिन्न चर्चा परिचर्चा चलेको थियो।
आइतबार प्रतिनिधिसभा भएको मतदानमा प्रधानमन्त्री देउवाको पक्षमा १ सय ६५ मत परेको थियो ।