भैरवराज रेग्मी ##
कार्यक्रमका अध्यक्ष, आदरणीय प्रमुख अतिथि, श्रद्धेय अतिथि, उपस्थित उद्योगी–व्यवसायी तथा सहभागी महानुभावप्रति अभिनन्दन गर्न चाहन्छु । कोरोना महामारीले जीवन गुमाउनुभएका उद्योगी–व्यवसायीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै तथा सङ्क्रमित हुनु भएका उद्योगी–व्यवसायीप्रति स्वास्थ्यलाभको कामना गर्दछु ।
१. पृथ्वीमा नयाँ नयाँ भाइरस उत्पत्ति भइरहन्छन् । मानवजातिको लागि घातक र महामारीको रूपमा फैलिरहेको अहिलेको कोरोना भाइरसले नेपालमा मात्र होइन, विश्वभरि नै आक्रान्त पारिरहेको छ । यो भाइरस नयाँ भएकाले यसको नियन्त्रणका लागि अनुसन्धानको प्रकृयाभन्दा यसको मानव शरीरमा प्रवेश गर्ने र घातक बनाउने प्रकृया तीव्र भएकाले मानव स्वास्थ्यमाथि गम्भीर सङ्कट पैदा भएको छ । यसले मानवजातिलाई घरभित्र थुनिदिएको छ । आपसी सम्पर्क बन्द गरिदिएको छ । विश्वको चलायमान अर्थतन्त्रलाई अवरोध पैदा गरेको छ । यस भाइरसको नियन्त्रणका लागि भएको प्रयास तथा यस महामारीबिच स्वास्थ्य व्यवस्थापन र अर्थतन्त्रलाई सुचारु गर्न हाम्रो देशको सत्तासिन राज्य र राजनीति असफलजस्तै भएको छ ।
भाइरसको म्युटेसन परिवर्तन र उसको आफ्नै प्रतिरोधी क्षमताको विकासले अहिलेसम्म अवलम्बन गरेको स्वास्थ्य व्यवस्थापन र खोपको प्रयत्न पूर्ण सफल नहुने वा अरू सङ्कट झेल्दै नयाँ नयाँ उपायको खोजी गर्ने दोसाँधमा मानव समाज उभिएको छ ।
कोरोना भाइरसको प्रथम लहरमा यसको नियन्त्रणका लागि अभ्यास गर्दै जाँदा दास्रो लहर आइपुग्यो । दोस्रो लहरभित्र पनि अर्थतन्त्र चलायमान बनाउन र स्वास्थ्यको व्यवस्थापन गर्दागर्दै तेस्रो लहर सुरु भएको छ । भाइरसको म्युटेसन परिवर्तन र उसको आफ्नै प्रतिरोधी क्षमताको विकासले अहिलेसम्म अवलम्बन गरेको स्वास्थ्य व्यवस्थापन र खोपको प्रयत्न पूर्ण सफल नहुने वा अरू सङ्कट झेल्दै नयाँ नयाँ उपायको खोजी गर्ने दोसाँधमा मानव समाज उभिएको छ ।
कोरोनाको प्रथम लहरमा नै विकसित भनिएका अमेरिका, बेलायत र युरोपियनजस्ता देश यसको व्यवस्थापनमा असफल सावित भए । उनीहरूको अर्थतन्त्र डावाडोल भयो । मानव मृत्यु र सबैभन्दा सङ्क्रमणको सिकार ती देश नै हुन पुगे । गरिब र विकासोन्मुख देशहरू त सङ्कटग्रस्त हुने नै भए । यसले कोरोना महामारी विरुद्धको व्यवस्थापनमा पुँजीवादी देशहरू असफल भएको प्रमाणित भएको छ । समाजवादी बाटोेले मात्र मानव र प्रकृतिसँगको द्वन्द्वलाई व्यवस्थापन गर्न सक्दछ र मानव समाजको संरक्षण र विकास गर्न सक्दछ भन्ने कुरा यो महामारीले प्रमाणित गरेको छ । अपवादको रूपमा चीनजस्ता केही राष्ट्र यस महामारी विरुद्धको व्यवस्थापनमा उल्लेख्य सफल भएका उदाहरण पनि छन् ।
कोरोना भाइरसले ल्याएको असरलाई निम्न कुरामा मानव समाजले ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ :
क) पृथ्वीमा निरन्तर आइरहने कोरोना भाइरसजस्ता महामारीसँग मानव समाजले लगातार सामना गरिरहनुपर्दछ ।
ख) भाइरस मात्र होइन, प्राकृतिक बिपत् (भूकम्प, ग्लोबल वार्मिङलगायत अन्य प्राकृतिक प्रकोप) को सामना निरन्तर गरिरहनुपर्दछ ।
ग) यी सबै कुरामा प्रकृतिसँग द्वन्द्व होइन, प्रकृतिमैत्री व्यवस्थापनमा मानव समाज लाग्नुपर्दछ । प्रकृतिसँग द्वन्द्व खोज्ने व्यवस्था वा राजनीतिले मानव समाजलाई ध्वस्त बनाउँछ ।
यसैले कोभिड–१९ को असरले मानव समाजको राजनीति र व्यवस्थापनलाई सही दिशामा डोर्याउनका लागि हाम्रा छलफल, बहस व्यापक रूपमा चलाउनुपर्दछ ।
समाजवादी बाटोेले मात्र मानव र प्रकृतिसँगको द्वन्द्वलाई व्यवस्थापन गर्न सक्दछ र मानव समाजको संरक्षण र विकास गर्न सक्दछ भन्ने कुरा यो महामारीले प्रमाणित गरेको छ । अपवादको रूपमा चीनजस्ता केही राष्ट्र यस महामारी विरुद्धको व्यवस्थापनमा उल्लेख्य सफल भएका उदाहरण पनि छन् ।
२) कोरोना महामारीले नेपालमा परेको असर
क) कोरोना महामारीबाट उत्पन्न व्यवस्थापनमा असर :
कोभिड–१९ बाट मुक्त हुन स्वयम् व्यक्ति वा समाज आफै नियन्त्रित हुनुपर्दछ । कमसेकम दुई मिटरको दुरीभित्र मानिसको सास, खोकी वा अन्य गतिविधिबाट मुखको वाफको माध्यम भएर मान्छेबाट मान्छेमा सर्ने यो भाइरस मुख र नाक हुँदै घाँटी र सासनली भएर फोक्सोमा पुगी मानिसको शरीरबाट प्रोटिन लिँदै करोडौँको सङ्ख्यामा वृद्धि हुने र भाइरस आफै प्रतिरोधी बन्दै जानाले यो घातक बन्न पुगेको हो । यसको प्रवेशसँगै मानिसको शरीरले एन्टीबडी पैदा गर्दछ र यस भाइरसका विरुद्ध नियन्त्रण राख्दछ । यदि शरीरको एन्टीबडी कमजोर भयो भने यो भाइरस घातक बन्दै जान्छ ।
ब्याक्टेरियालाई नियन्त्रण गर्ने जस्ता औषधि यस भाइरसका लागि उत्पादन भएका छैनन् । अहिले विकसित गरिएका खोप पनि शरीरमा एन्टीबडी वृद्धि गर्ने माध्यम हो । त्यसैले यसलाई नियन्त्रण गर्न कमसेकम दुई मिटर सामाजिक दुरी कायम गर्ने, स्वाब परीक्षण गर्ने, सङ्क्रमितलाई आइसोलेसनमा राख्ने र गम्भीर लक्ष्यण भएकालाई वैकल्पिक उपचार गर्ने । शरीरमा एन्टीबडी पैदा गर्न पोषक आहार लिने, निश्चित दुरीभित्र शरीरलाई चलायमान बनाउने र खोपको प्रयोग गर्ने । यस प्रकारका व्यवस्थापनमा हाम्रो देशको राजनीति र राज्यव्यवस्था चुकेको छ । यसैले सङ्क्रमितको सङ्ख्या र मृत्यु वृद्धि भइरहेको छ । मृत्युको मुखबाट बाँचेका वा सङ्क्रमित अवस्थाबाट मुक्त भएका बिरामीमा पछिसम्म कति असर हुन्छ र यसबाट कसरी मुक्त हुने ? यो अनुसन्धानमै छ ।
सरकार कोरोना विरुद्धको व्यवस्थापन र नियन्त्रणमा लाग्नुको सट्टा राजनैतिक अस्थिरता पैदा गर्ने गतिविधिमा लागेको छ । नियम, कानुन र संविधान उल्लङ्घन गर्दै कसरी आफू सत्तामा टिकिरहने र सत्ताबाहिरका विपक्षी पनि कसरी सत्तामा पुग्ने भन्ने खेलमा लागिरहेको छ ।
यसरी कोरोना महामारीको विरुद्ध व्यवस्थापनमा सरकार असफल भएको छ । लकडाउन वा निषेधाज्ञाको अर्थ आम जनसमुदायबाट सामाजिक दुरी कायम गरेर सङ्क्रमण फैलिन नदिने मात्रै होइन, पिसिआर/एन्टिजेन परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, आइसोलेसन, उपचार र खोपको व्यवस्थापनका लागि राज्यले व्यवस्थापन गर्ने समय पनि हो । पहिलो लहरमा यस प्रकारका प्रारम्भिक गतिविधि देखिएता पनि प्रथम र दोस्रो लहरमा निषेधाज्ञाभित्र सरकारको गम्भीर र प्रभावकारी भूमिका देखिएन । विभिन्न देशबाट नेपाल भित्रिने नेपाली नागरिकलाई सीमाक्षेत्रमा स्वास्थ्य परीक्षण र आइसोलेसनको व्यवस्था नगरी सिधै घर पठाउने कामले सम्पूर्ण जिल्लामा महामारी फैलियो ।
सरकार कोरोना विरुद्धको व्यवस्थापन र नियन्त्रणमा लाग्नुको सट्टा राजनैतिक अस्थिरता पैदा गर्ने गतिविधिमा लागेको छ । नियम, कानुन र संविधान उल्लङ्घन गर्दै कसरी आफू सत्तामा टिकिरहने र सत्ताबाहिरका विपक्षी पनि कसरी सत्तामा पुग्ने भन्ने खेलमा लागिरहेको छ ।
कोरोना महामारी र राजनैतिक अस्थिरताले कृषि उत्पादन, उद्योग व्यापार र सेवा क्षेत्रका व्यवसायी सङ्कटग्रस्त अवस्थामा छन् । गरिब, असहाय निम्न वर्ग र मजदुर भोकभोकै मरिरहेका छन् । कोभिड–१९ को उपचार र खोपबाट वञ्चित छन् । उत्पादन गर्ने कृषि र उद्योगी–व्यवसायी तथा त्यस क्षेत्रमा काम गर्ने मजदुरलाई स्वास्थ्य र खोपको व्यवस्थापनलाई प्राथमिकता दिएर अर्थतन्त्र चलायमान बनाउन सरकारसँग कुनै पनि योजना भएन । विदेशमा रोजगारी वा अध्ययनमा जाने नेपाली नागरिकलाई अन्तर्राष्ट्रिय रूपमा नै खोपबिना प्रवेश निषेध गरिएको यो अवस्थामा उनीहरूको खोप व्यवस्थापनका लागि सरकार योजनाविहीन छ, जसले गर्दा नेपालमा आउने रेमिट्यान्स र स्वयम् नेपाली नागरिकको रोजगारीमा गम्भीर असर परेको छ ।
कोरोना महामारीबिच बन्द भएको उद्योग व्यवसायमाथि कर, घरभाडा, बिजुलीमा सहुलियतको नीति ल्याउनुको बदला सरकारले राजस्व असुलीमा नै जोड दिने र बैङ्क वा वित्तीय संस्थाले नाफा कमाउनमा नै जोड रहेको छ ।
खोपको व्यवस्थापनमा सरकार हद दर्जाको गैरजिम्मेवारीपन देखिएको छ ।
देशको आम्दानीको मुख्य श्रोत कृषि उत्पादन हो । कोरोना महामारी बिचमा पनि कृषि उत्पादनमा जोड दिँदै वितरणको व्यवस्थामा ध्यान नदिई खाद्यान्न, फलफूल, तरकारी र माछामासु निर्वाध आयात गर्ने काम भएको छ । यसले गर्दा कृषि उत्पादन खेतबारीमै सडेको छ । जनता “भगवान भरोसे” वा “भाग्यको खेल” मा बाचिरहनुपरेको छ ।
खोपको व्यवस्थापनमा सरकार हद दर्जाको गैरजिम्मेवारीपन देखिएको छ । भारत सरकारसँग मात्र हरेक कुरामा भर पर्ने नीतिले भारतले दिएको न्यून अनुदानमा रमाई अन्य देशसँग खोप खरिदको लागि कुनै पहल गरिएन । भारतसँग खरिद गर्न दिएको रकमको समेत भारतले खोप निर्यात रोकिदिनाले कोरोना भाइरसको सङ्क्रमणले भयावह स्थिति खडा गर्यो । उक्त समयमा चीनले नेपाललाई खोपको आपूर्ति गर्ने सङ्केत गरेता पनि त्यसको बेवास्ता गरेर लामो समयसम्म खोपविहीन भएर सरकार रमिते बन्यो ।
ख) कोरोना महामारीले आर्थिक क्षेत्रमा परेको असर
कोराना महामारी विरुद्धको व्यवस्थापनप्रति सरकारको गैरजिम्मेवारीले गर्दा देशको अर्थतन्त्र पूर्ण रूपमा धरासायी भएको छ । देशको अर्थतन्त्र सरकारी आँकडानुसार पनि दुई अङ्कभन्दा माथि ऋणात्मक रहेको छ । कोरोनाको तेस्रो लहर वा खोप उत्पादनको व्यवस्थापनमा सुधार आए पनि त्यसपछिको अवस्थामा अहिलेकै रवैया रहिरहने हो भने देशको अर्थतन्त्र झन् भयावह हुने छ । स्वास्थ्य र खोपको व्यवस्थापनपछि कोभिड–१९ को नियन्त्रण भएपछि पनि देशको अर्थतन्त्र चलायमान बनाउन तत्कालीन र दीर्घकालीन योजना सरकारसँग छैन । उद्योग–व्यवसाय धरापमा परेको छ । बैङ्कले नाफा कम गर्न चाहँदैनन्, सरकार कर उठाउन उद्धृत छ । त्यसैले कोरोना महामारी अवधिभरको अर्थप्रणाली कसरी चलायमान हुन सक्छ ? यसबारे देशमा सरोकारवालाका बिच गहन छलफल जरुरी छ र निष्कर्षसहित राज्य र राजनीतिलाई गम्भीर दबाब दिन जरुरी छ ।
सरकार कोरोना महामारीका विरुद्ध नियन्त्रण गर्ने र उद्योग–व्यवसायीलाई प्रोत्साहित गर्दै अर्थतन्त्र सुधार गर्नेतिर नलागी राजनैतिक अस्थिरता सृजना गर्न पुगेको छ ।
३. अस्थिर राजनीतिले देशको अर्थतन्त्रमा परेको सङ्कट
गणतन्त्रको स्थापनापछि जनताले स्थिर राजनीति र स्थिर सरकारको अपेक्षा गरेका थिए । त्यसअनुसार दुईतिहाइ नजिक सिट जितेर नेकपा सत्तासिन भयो । तर नेकपाभित्रको फुट र उसको सरकारले नियम–कानुन र संविधान मिच्दै नातावाद, भ्रष्टाचार, कमिसन, तानाशाही प्रवृत्तिको विकास हुन थाल्यो । आफ्नो कुर्सी जोगाउन वा कुर्सीमा पुग्न साम्राज्यवादी देशको आशिर्वाद प्राप्त गर्ने होडबाजी नै चलेको छ । संविधानसमेतले तोकेको समाजवादउन्मुख स्वतन्त्र, राष्ट्रिय र आत्मनिर्भर अर्थनीतिका विरुद्ध दलाल पुँजीवादलाई प्रश्रय दिएको छ । सरकार कोरोना महामारीका विरुद्ध नियन्त्रण गर्ने र उद्योग–व्यवसायीलाई प्रोत्साहित गर्दै अर्थतन्त्र सुधार गर्नेतिर नलागी राजनैतिक अस्थिरता सृजना गर्न पुगेको छ ।
४) उद्योग–व्यवसायीका समस्या र त्यसका समाधान
क. उद्योग–व्यवसायलाई चलायमान बनाउन सर्वप्रथम यसमा काम गर्ने व्यवसायी र मजदुरको खोप र स्वास्थ्यको व्यवस्था तुरन्त गरिनुपर्दछ र यसलाई प्राथमिकतामा राख्नुपर्दछ ।
ख. स्वास्थ्य मापदण्डलाई कायम गरी उत्पादन र वितरण प्रणालीलाई सुचारु गर्नुपर्दछ ।
ग. घरबहालमा रहेका उद्योगी–व्यवसायीको घरभाडालाई सहुलियतको नीति ल्याउनुपर्दछ ।
घ. कोरोना अवधिभर मारमा परेका उद्योगी–व्यवसायीमाथि बिजुली, अन्तःशुल्क र करमा परम्परागत नीति परिवर्तन गरेर विशेष र सहुलियत प्रणाली सुरु गर्नुपर्दछ । यस प्रकारको नीति अपनाउँदा अर्थव्यवस्था चलायमान हुने भएकाले सरकारलाई पनि फाइदा पुग्दछ ।
ङ. स्वास्थ्य मापदण्ड पालना गरी निश्चित मापदण्ड तयार गरेर सीमित रूपबाट पर्यटन व्यवसाय खुला गर्नुपर्दछ ।
च. महामारीको सङ्कटग्रस्त अवस्थाको मूल्याङ्कन गरी बैङ्क र वित्तीय संस्थाहरू मुनाफामुखी नभएर सहज प्रकारको ब्याज प्रणालीको नीति अवलम्बन गर्नुपर्दछ । सरकारको मुख्य ध्यान स्वास्थ्य व्यवस्थापन र उत्पादन (कृषि–उद्योग) तथा वितरण प्रणाली (व्यापार तथा सेवा) क्षेत्रलाई दिनुपर्दछ ।
छ. वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकको स्वास्थ्य र खोप व्यवस्थालाई प्राथमिकता दिनुपर्दछ । तत्कालीन रूपमा उनीहरूको रेमिट्यान्सको योगदानले देशको आर्थिक क्षेत्र बाँचिरहेको छ ।
ज. देशमा नै रोजगारी सृजना गर्न, वैदेशिक रोजगारीलाई कम गर्दै लैजाने र स्वदेशमै रोजगारको सृजनाका लागि आत्मनिर्भर अर्थतन्त्रको गुरुयोजना सुरु गर्नुपर्दछ ।
झ. उपभोक्ताले सहज रूपमा प्राप्त गर्ने, आधारभूत रोजगारीको सृजना गर्ने र अर्थतन्त्रको मेरुदण्ड मानिने साना तथा खुद्रा व्यवसायीको समस्यालाई ध्यान दिँदै प्राथमिकतामा राखेर कोरोना अवधिभर र त्यसपछिका लागि पनि सरकारले विशेष सम्बोधन गर्न आवश्यक नीतिनियम बनाउनुपर्दछ ।
ञ. उद्योग–व्यवसाय सञ्चालनका लागि दर्ता प्रकृयाको कानुनी जटिलता, समयसीमा, व्यवसाय सञ्चालनका लागि वित्तीय संस्थाको प्रतिकूल नियमविधि, व्यवसाय सञ्चालन सहजीकरणका लागि सरकारको उपेक्षित भूमिका दर्ता र सञ्चालन प्रकृयामा प्रत्यक्ष÷अप्रत्यक्ष कमिसन र भ्रष्टाचार आदि बन्द हुनुपर्दछ । उत्पादित वस्तुको निर्यातलाई पहिलो प्राथमिकता दिनुपर्दछ । वैदेशिक आयात–निर्यात व्यवसायीका लागि सरकारको सहयोगी भूमिका हुनुपर्दछ ।
ट. देशमा अहिले भइरहेको राजनैतिक अस्थिरताले समग्र अर्थतन्त्र ध्वस्त भएको छ । राज्य र राज्यका अङ्ग, संविधान, नियम–कानुन र नैतिक आधारमा जवाफदेही नभई तानाशाही शासनशैलीमा अगाडि बढिरहेको छ । त्यसका विरुद्ध प्रजातान्त्रिक शासन प्रणालीले मात्र देशको अर्थतन्त्रमा सुधार हुन सक्दछ । त्यसका लागि सबै तह र तप्काबाट सरकारलाई आवश्यक दबाब दिन जरुरी छ । स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रका लागि दलाल पुँजीवादी अर्थप्रणालीलाई प्रवेश नै गर्न नदिनेतिर सबै पक्षको आम सहमति बनाउन जरुरी छ । यसका आधारमा उद्योगी–व्यवसायीको सफलताको लागि र देशको स्वतन्त्र, आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सबै पक्षका उद्योगी–व्यवसायीको आम सहमतिमा आवश्यक माग राखेर त्यसलाई पूरा गराउन सरकारलाई दबाब दिन आवश्यक छ ।
अन्तमा, यस भर्चुअल अन्तरक्रिया कार्यक्रमले वर्तमान कोरोना महामारी र अस्थिर राजनीतिबाट आक्रान्त पारेको उद्योगी–व्यवसायी तथा देशको अर्थतन्त्रलाई चलायमान र सही दिशामा गति दिने छ र सर्वसम्मत निष्कर्ष निकाल्ने छ भन्ने आसा व्यक्त गर्न चाहान्छु ।
(अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घद्वारा २०७८ असार २६ गते आयोजित भर्चुअल अन्तरक्रिया कार्यक्रममा प्रस्तुत आधारपत्र)