पोखरा । गण्डकी प्रदेशको सत्तासंघर्ष थप रोचक बनेको छ । एक जना सांसदको भोट ‘निर्णायक’ हुने गण्डकीमा बहालवाला मन्त्री रहेका दीपक मनाङेले विपक्षी गठबन्धनलाई समर्थन गरेपछि सत्ता संघर्ष थप रोचक बनेको हो ।
आज (बिहीबार) मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने कार्यक्रम छ । कुल ६० जना प्रदेश सभा सांसद रहेको गण्डकीमा विश्वासको मत लिन ३१ मत चाहिन्छ ।
गण्डकीमा नेकपा एमालेको २७, नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, जसपाको २, राष्ट्रिय जनमोर्चाको ३ र स्वतन्त्र १ सांसद छन् । राजमोले कारबाही गरेका कृष्ण थापाले पृथ्वीसुब्बालाई नै मत दिने जनाइसकेका छन् । थापाले मत दिए पनि गुरुङले २८ या २९ मत मात्र प्राप्त गर्न सक्ने सम्भावना छ ।
विश्वासको मत लिन असफल भए संविधान बमोजिम प्रदेश प्रमुखले बहुमतको सरकारको आव्हान गर्नेछिन् । त्यतिबेला कांग्रेसका कृष्णचन्द्र नेपालीले बहुमतको दाबी प्रस्तुत गर्ने तयारी भइसकेको छ ।
नेपालीले बहुमतको दाबी सिद्ध गर्न कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपाका २, राजमोका २ का अलावा स्वतन्त्र सांसद दिपक मनाङेको समर्थन आवश्यक हुन्छ । मनाङेले साथ दिएमा नेपाली मुख्यमन्त्री बन्नेछन् । यसकारण पनि दिपक मनाङे गण्डकी प्रदेशमा निर्णायक शक्ति बनेका छन् ।
यसबाहेक माओवादीबाट निर्वाचित सभामुखले राजीनामा दिने चर्चा पनि छ । त्यसो भएमा पनि नेपालीको पक्षमा बहुमत पुग्छ । तर, मनाङेको साथ दिए सभामुखले राजीनामा नदिएपनि कृष्णचन्द्र नै मुख्यमन्त्री बन्ने छन् ।
मनाङ ख बाट एमालेको सहयोगमा निर्वाचित दीपक मनाङेको हैसियत स्वतन्त्र छ । यसअघि पनि निर्णायक अवस्थामा रहेका मनाङेले पृथ्वीसुब्बालाई साथ दिएका कारण दुई पटकसम्म मन्त्री बनिसकेका छन् ।
ग्याङस्टार हुँदै राजनीतिमा छिरेका मनाङेले गण्डकीमा सत्ता संघर्षलाई थप रोचक बनाइदिएका छन् ।