काठमाडौं । राजनीतिज्ञ डा. सूर्यराज आचार्यले ढुंगा, गिट्टी, बालुवा निकासी गरेर देश समृद्ध नबन्ने बताउनुभएको छ । सरकारले बजेटमार्फत नदीजन्य पदार्थ निकासी गर्ने नीति खुला गरेपछि इन्जिनियरसमेत रहेका डा. आचार्यले यस्तो टिप्पणी गर्नुभएको हो ।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको बजेटको १९९ नम्बर बुँदामा भनिएको छ, ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ ।’
सो बुँदाप्रति वातारणविदहरुले आपत्ति जनाएका छन् । ढुंगा, गिट्टि, बालुवा जस्ता नदीजन्य पदार्थ विदेश निकासी गर्दा अनियन्त्रित दोहन हुने र तराई मरुभूमि बन्ने भन्दै वातावरणविदहरुले चिन्ता जाहेर गरेका छन् ।

डा. आचार्यले प्रकृतिक स्रोत दोहन गरि ढुङ्गा/गिटी/बालुवा निर्यातबाट देश धनी बन्दैन भन्दै बजेटको यो नीति सच्याउन माग गर्नुभएको छ ।
‘बरू वातावरणीय प्रभाव न्युनीकरण गर्ने गरि कुनै झन्झट/सिन्डिकेट बिना विकास/निर्माणका आयोजनामा आवस्यक ढुङ्गा/गिटी/बालुवाको सहज आपुर्तीको व्यवस्थामा सरकारको पहल केन्द्रित होस्’ उहाँले भन्नुभएको छ ।
प्रकृतिक स्रोत दोहन गरि ढुङ्गा/गिटी/बालुवा निर्यातबाट देश धनी बन्दैन। बजेटको यो नीति गलत छ। सच्याईयोस्।
बरू वातावरणीय प्रभाव न्युनीकरण गर्ने गरि कुनै झंझट/सिन्डिकेट बिना विकास/निर्माणका आयोजनामा आवस्यक ढुङ्गा/गिटी/बालुवाको सहज आपुर्तीको व्यवस्थामा सरकारको पहल केन्द्रित होस्।— Surya Raj Acharya (@SuryaRAcharya) June 1, 2021
तत्कालिन सरकारले २०७१ असार २ गते चुरे विनाश र त्यसमा आश्रित सर्वसाधारणलाई परेको समस्या न्यूनीकरण गर्ने उद्देश्यले २०७१ साउन १ गतेदेखि लागु हुने गरी चट्टान, माटो, ढुंगा, गिट्टी र वालुवाको विदेश निकासीमा प्रतिबन्ध लगाएको थियो ।
तर अहिलेको सरकारले बजेटका बुँदा नम्बर १५२, १५९ र १६२ मा चुरे र त्यहाँको वन संरक्षणका लागि अर्बौ रुपैयाँ छुट्टाएको जानकारी दिएको छ भने बुँदा नम्बर १९९ मा खनिज पदार्थ निकासीको प्रतिबन्ध फुकुवा गरेको छ ।
‘खानीजन्य पदार्थ निकासी भए तराई मरुभूमि बन्न सक्छ’