काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संसदलाई छलेर बजेट ल्याउनु लोकतन्त्रकै उपहास भएको बताउनुभएको छ । संविधानमा जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्ने व्यवस्था भएपनि सरकारले हिजो अध्यादेश मार्फत बजेट ल्याएको थियो ।
सरकारले नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्र र लोकतन्त्रलाई नै उपहास गर्ने ढंगले संसद्लाई छलेर चुनाव र प्रचारमुखी बजेट ल्याएको पौडेलले आरोप लगाउनुभयो ।
उहाँले अल्पमतको काम चलाउ सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नै नभएको अवस्थामा सस्तो लोकप्रियता र निर्वाचनका लागि प्रचारमुखी बजेट ल्याएको आरोप पनि लगाउनु भयो । प्रस्तुत बजेट निर्वाचनका लागि राजनीतिक नारा बेच्ने प्रयास भएको उहाँले बताउनुभयो ।
प्रतिनिधि सभा सदस्यसमेत रहेकी पौडेलले संसदीय अभ्यास र लोकतान्त्रिक मूल्य मान्यता विपरीत संसद्लाई छलेर अध्यादेशबाट बजेट ल्याइनु भनेको लोकतन्त्र र गणतन्त्रको जगलाई नै भत्काउने प्रयास मात्र नभई अत्यन्तै खतरनाक विषय भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘बजेट दल विशेषको सस्तो लोकप्रियता र निर्वाचनका लागि प्रचारमुखी छ । अल्पमतको काम चलाउ सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार छैन, यो अधिकारभन्दा बहिरको कुरा हो । हाम्रो पार्टीले यसको विरोध गरेको छ । चुनावलाई आधार बनाएर प्रचारका लागि ल्याइएको प्रष्टछ, कार्यान्वयन हुन्छ भन्ने सुनिश्चित पनि छैन ।’
कोभिड– १९ संक्रमण रोकथामका लागि सांसद विकास कोष पूर्वाधार विकास कार्यक्रम आवश्यक नभएकाले महामारी नियन्त्रणमा उक्त शीर्षको बजेट लगाउन सुझाव दिएको प्रसंग उल्लेख गर्दै नेत्री पौडलले कोरोना नियन्त्रणलाई छुट्याएको बजेट पूर्णरूपमा कार्यान्वयन गर्न सुझाव पनि दिनुभयो ।
प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेको सरकारले हिजो अध्यादेशमार्फत बजेट प्रस्तुत गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबाट आगामी आर्थिक वर्षका लागि रु १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गर्नुभएको थियो ।