काठमाडौं । संसद् विघटनको मुद्दा आज (शुक्रबार) देखि सुनुवाइ सुरु हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा गठन गरिएको ५ सदस्यीय संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ गर्न लागिएको हो ।
इजलासमा प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, आनन्द मोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ हुनुहुन्छ।
इजलासमा प्रारम्भिक सुनुवाइका लागि ११ वटा रिट छन् । यस्तै बिहीबार नियमित इजलासमा सुनुवाइ भएका १९ रिट पनि संवैधानिक इजलासमै पठाइएको छ।
यो नियमित इजलास हो। आजको इजलासले मुद्दा सम्बन्धमा अन्तरिम आदेश दिने नदिने निर्णय गर्नेछ। यस्तै विपक्षीसँग लिखित जवाफ माग गरेर नियमित सुनुवाइका लागि अर्को संवैधानिक इजलास गठन गर्नेछ।
विपक्षी दलहरूले दायर गरेको रिटमा मन्त्रिपरिषद्को सिफारिसमा कात्तिक २६ गते र मंसिर ३ गतेका लागि राष्ट्रपतिद्वारा घोषित निर्वाचन तत्काल कार्यान्वयन नगराउन अन्तरिम आदेश माग गरिएको छ। निर्वाचन आयोगलाई कुनै पनि चुनवाी गतिविधि नगर्न र निर्वाचनसम्बन्धी कार्यक्रमसमेत प्रकाशन नगर्न अन्तरिम आदेश माग गरिएको छ।
बहुमत सदस्यको समर्थन प्राप्त प्रतिनिधि सभाका सदस्य शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा नियुक्ति गर्न र विश्वासको मत लिने प्रबन्ध मिलाउन पनि आदेश माग गरिएको छ। यस्तै जेठ १५ गते अनिवार्य रूपमा बजेट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले प्रतिनिधि सभाको बैठक बोलाउन पनि अन्तरिम आदेश माग गरिएको छ।
यस्तै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेका आधारमा प्रतिनिधि सभाका सदस्यलाई दल त्याग गरेको भनी कुनै कारबाही हुनबाट रोक्न पनि सर्वोच्च अदालतसँग अन्तरिम आदेश माग गरिएको छ।