काठमाडौं । नेकपा (एमाले) ले तत्कालिन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको २८औँ स्मृति दिवस मनाएको छ । विस. २०५० साल जेठ ३ गते अर्थात आजकै दिन नेताद्वयको चितवनको दासढुंगास्थित त्रिशुली नदीमा भएको रहश्यमय दुर्घटनामा परी निधन भएको थियो ।
एमालेले सो दुर्घटनालाई ‘नियोजित हत्या’ भने पनि त्यसबारे छानबिन गर्ने तत्परता भने देखाएन । मदन–आश्रितका ड्राइभर अमर लामाकोसमेत जेलबाट निस्कनासाथ रहश्यमय तरिकाले हत्या भयो ।
२८औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टाछुट्टै प्रेस वक्तव्य जारी गरी मदन–आश्रितको योगदानको उच्च मूल्यांकन गर्दै उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै एक अर्काप्रति फुटपरस्त, संकिर्ण, अहंकारी जस्ता शब्दले आरोप प्रत्यारोपसमेत गरेका छन् ।
एकअर्कालाई लक्ष्य गरी दोषारोपण गरे पनि दुवैले नाम भने उल्लेख गरेका छैनन् । अध्यक्ष ओलीले नेता नेपाललाई समेत लक्ष्य गरी ‘कतिपय नेताको विभाजनकारी र अवसरवादी सोच’ले गर्दा नेकपा एकता बीचमै टुटेको आरोप लगाउनुभएको छ ।
‘तीन वर्षअगाडि आजैका दिन हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचमा पार्टी एकीकरण गरेका थियौं। यो विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक–आर्थिक रूपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रूपमा नेपाल कम्युनिस्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको ‘च्याम्पियन’ बनाउने हाम्रो इमान्दार प्रयास थियो,’ एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर कतिपय नेताहरूका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन ।’
यस्तै, वरिष्ठ नेता माधवकुमार नेपालले अहंकार, गुटगत र पार्टी एकताविरोधी पवृत्ति देखापरेको भन्दै त्यस्ता प्रैवृतिलाई निरुत्साहित पार्नुपर्ने बताउनुभएको छ ।
‘फेरि एकपटक सबै खालका अहंकार, गुटगत र पार्टी एकताविरोधी पवृत्तिलाई निरुत्साहित गर्दै देश, जनता र पार्टीप्रति जिम्मेवार भएर क्रान्तिलाई अघि लैजाने सके मात्रै उहाँहरुप्रतिको सम्मान हुनेछ,’ वक्तव्यमा भनिएको छ, ‘देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तीहरुलाई सच्चाएर उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौं । यो नै उहाँहरुप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।’