काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारीबाट कांग्रेस पछि नहट्ने बताउनु भएको छ । बुधबार चितवनमा आयोजित कार्यक्रममा सभापति देउवाले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताउनुभयो ।
‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ’ देउवाले भन्नुभयो, ‘नेतृत्व पाए कांग्रेस सरकारमा जाने हो, पहिला नेकपा फुट्नुपर्यो ।’ यसअघि महामन्त्री शशांक कोइरालाले पनि कांग्रेस सरकारमा जानुपर्ने धारणा राख्नुभएको थियो ।
चितवनमै पत्रकारसँगको भेटघाटको क्रममा कोइरालाले प्रचण्ड–नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्ने बताउनुभएको थियो । नेकपालाई फुटाउने हो भने कांग्रेस नयाँ सरकारमा सामेल हुनुपर्ने उहाँको भनाइ थियो ।
उहाँले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने समेत बताउनुभयो । प्रतिनिधिसभाका सदस्य डा कोइरालाले भन्नुभयो, ‘नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ। त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन ।’