कावासोती । राष्ट्रिय जनमोर्चा नवलपुरको आयोजनामा प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ ।
अखिल नेपाल किसान महासङ्घ (अप्प्फा) का अध्यक्ष भैरवराज रेग्मी र राजमोका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीको आतिथ्यतामा बुधवार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि भैरवराज रेग्मीले जनताको बलबाट नै प्रतिक्रियावादीहरूलाई हराउन सकिने भएकाले जनताको बिचमा सङ्गठन निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले अवसरवादीहरूले आफ्नो फाइदाका लागि सङ्गठन निर्माण गर्ने गरेको बताउँदै आफूहरूले जनताको मुक्तिका लागि सङ्गठन गर्नुपरेको बताउनुभयो । उहाँले हालसम्म नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले लिएको नीति सही भएकोमा गर्व गनुपर्ने पनि बताउनुभयो।
कार्यक्रममा भर्खरै निधन हुनुभएका गोपाल गिरी र सहिदहरूप्रति दुई मिनेट मौनधारण गरिएपछि कृष्ण अधिकारीले सङ्गठनात्मक र आन्दोलनसम्बन्धी एकमहिने कार्यक्रमको योजना प्रस्तुत गर्नुभएको थियो ।
भेलामा माघ ५ देखि ३० गतेसम्म दुई वटा टोली बनाउने निर्णय भएको जिल्लाध्यक्ष दिपक पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा टोलीको नेतृत्व राजमो जिल्ला उपाध्यक्ष विकाराम चौधरी सदस्यसहित चन्द्र सापकोटा, किसान महासङ्घका जिल्ला अध्यक्ष भागिरथ भट्टराई र किसान महासङ्घकै जिल्ला सचिव भिम आचार्यले गर्नुहुने छ । उक्त टोलीले विनय त्रिवेणीबाट पूर्वतर्फ अभियान थाल्ने छ ।
त्यस्तै, राजमो जिल्लाध्यक्ष दिपक पाण्डेसहित राजमो जिल्ला सदस्य कृष्ण सापकोटा, ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य शालिकराम सापकोटा, खडकबहादुर केसी र रूपनारायण महतो नेतृत्वको अर्को टोली गैडाकोटबाट पश्चिमतर्फ अभियान सञ्चालन गर्ने छ ।
दुवै टोलीले माघ १७ गते डण्डामा आमसभा सम्पन्न गर्ने छ ।
माघ ३० गते गैँडाकोटमा ओली सरकारको असंवैधानिक प्रतिनिधि सभा विघटन विरुद्ध सबै पार्टीसहितको अन्तरक्रिया कार्यक्रम गरिने छ; र, फागुन ९ गते राजमोका तर्फबाट कावासोतीमा जुलुससहित सभा गरिने छ ।
भेलामा राजमो नवलपुरका अध्यक्ष दिपक पाण्डेको अध्यक्षता, शालिकराम सापकोटाको सञ्चालन र लालु खरेलले स्वागत मन्तव्य रहेको थियो ।