काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरिमा कोरोनाका ३ हजार ५१७ बिरामी थपिएका छन् । यससँगै देशभर सङ्क्रमितको कुल सङ्ख्या १ लाख ६८ हजार २३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ९८९ जनाको परीक्षण हुँदा २ हजार १५६ पुरुष र १ हजार ३६१ महिला गरी ३ हजार ५१७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यसै अवधिमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या भने १ लाख २८ हजार ९५८ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको सङ्ख्या ४ हजार ९६ रहेको छ ।
त्यस्तै, थप १६ जना सङ्क्रमितको मृत्यु हुँदा कुल मृतकको सङ्ख्या ९२० पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभरिमा सक्रिय सङ्क्रमित ३८ हजार ३५७ जना रहेको छ । यो कुल सङ्क्रमितमध्येको २२.८ प्रतिशत हो ।
त्यसैगरी, गत २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ८८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यससँगै काठमाडौँ जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या ६० हजार ७४२ पुगेको छ; जसमध्ये ४४ हजार २८८ जना निको भएका छन् भने २१२ जनाको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार २४२ पुगेको छ ।
ललितपुर जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या ८ हजार ५९९ जना रहेको छ; जसमध्ये ६ हजार १९६ जना निको भएका छन् र ५८ जनाको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ३४५ रहेको छ ।
भक्तपुरमा ५ हजार ६५० जना सङ्क्रमित भएकोमा ४ हजार ४२२ जना निको भएका छन् भने ६३ जनाको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १६५ रहेको छ ।

