कल्पना पौडेल ‘जिज्ञासु’
एउटा सुन्दर बगैँचा थियो । त्यो बगैँचामा अनेकौँ फूल फुलिरहेका थिए । ती फुलेका फूलले मिठो सुगन्ध छर्थे । त्यै मगमग बासनाले आसपासको वातावरण नै आनन्दमय भएर महकिन्थ्यो । फूलका रस चुस्नका लागि पुतलीहरू आउने गर्थे ।
यिनैमध्ये एक पुतली आएर एउटा फूलमा बसी । रस चुसी भुर्र उडेर अर्काे फूलमाथि बसी । फेरी उडेर अर्काे फूलमा बसी ।
पुतलीको यो हर्कत्लाई एउटा सानो भर्खरै कोपिला लागेको फूलले हेरिरहेको थियो । जब पुतली आफूनजिकको फूलमाथि बसी सानो कोपिला फूलले बडो जिज्ञासु पाराले सोध्यो– ‘तिमी ती फूलमाथि किन बस्छ्यौ ?’
पुतलीले जवाफ फर्काई– ‘फूल सुन्दर हुन्छन् । फूलले मलाइ मिठो रस दिन्छन । म त्यही रस पिउँछु र झन् राम्री बन्छु ।’
‘के तिमी पनि मलाई तिम्रो रस पिलाउँछौ ?’ पुतलीले कोपिला फूललाई सोधी ।
सानो फूलले भन्यो– ‘अहिले म सानो छु । भोलि फक्रिन्छु । म ठुलो हुन्छु र तिमीलाई मेरो रस पिलाउने छु । तिमी अझै राम्री हुने छौ ।’
अनि सोध्यो– ‘तिमी यति राम्रो पखेटालाई के गर्छुयौ नि ?’
सानो फूलको जिज्ञासालाइ मेटाउँदै पुतलीले भनी– ‘यिनी राम्रा पखेटासँग उडेर म केटाकेटीको सामुन्ने जान्छु । केटाकेटीलाइ मेरा पखेटा निकै राम्रा लाग्छन् । उनीहरू मलाई समात्न खोज्छन् । म भुर्र उडेर भाग्छु । अलि टाढाबाट केटाकेटीलाई पखेटा देखाएर खुशी पार्छु ।’
फूलले सोध्यो– ‘के तिनी केटाकेटी मजस्तै साना छन् ?’
पुतलीले भनी हो– ‘तिमीजस्तै साना र प्यारा छन् ।
‘हुन्छ, अब म जान्छु । भोलि तिमी ठुलो हुने छौ । फक्रिने छौ’ पुतलीले थपी ।
भोलिपल्ट पुतली बगैँचामा आई । त्यो सानो फूल आज ठुलो जवान भएर फक्रिएको थियो । पुतली आज त्यै फूलमाथि बसी ।
फूलले रस पिलायो र भन्यो– ‘पुतली तिमी साँच्चै कति राम्री छौ ? निकै सुन्दर ! हामीभन्दा पनि राम्री तिमीले साना साना बालबालिकाको मन बहकाउँछौ । खुशी दिन्छ्यौ । आनन्दित र मोहित तुल्याउँछ्यौ । म पनि अरूका लागि फुल्छु । मिठो सुगन्ध छर्छु । मलाई देखेर बालबच्चादेखि वृद्धवृद्धासम्मका सबै खुशी हुन्छन् । हाँस्छन् । मैसँग बसेर फोटो खिचाउँछन्; तर म तिमीजस्तो उड्न सक्दिनँ ।
यति भन्दै फूल निरास भयो ।
पुतलीले फूलको उदासिनतालाई मेटाउन भनी– ‘उदास नहोऊ फूल भाइ । मेरो राम्रो पखेटा र तिम्रो फूलको सुगन्ध र आकर्षण अरूका निम्ति हो । तिमीलाई कसैले टिप्यो भने पनि तिमी हाँसिरहनू । आफ्नो सुगन्ध छरिरहनू । यही त जीवन हो । आफू बाँचेर अरूलाई खुशी दिनु नै जीवनको सार्थकता हो ।’
यो सुनेर फूलको उदासिनता हरायो । फूललाई चित्त बुझाएर पुतली भुर्र उडेर गई ।
अर्काे दिन पुतली त्यै फूल भेट्न हतारिँदै आई र फूलको नजिक पुगी ।
आज त्यो फूल ओइलिएको थियो । फूल मर्दै थियो ।
फूलले पुतलीलाई हेर्याे र भन्यो– ‘उदास नहुनू पुतली दिदी । मेरो जीवन छोटो छ । अब म जाँदै छु ।’
पुतलीको आँखाबाट आँसु झर्न थाल्यो ।
पुतलीले रुँदै भनी– ‘तिम्रो जीवन छोटो कहाँ छ र ? तिमी त फुलिरहनुपर्छ । अरूलाई सुगन्ध छर्नका लागि बाच्नुपर्छ मेरो भाइ ।’
फूल पनि पुतलीलाई हेरेर रुन लाग्यो ।
‘पुतली दिदी ! प्रकृतिले हाम्रो जीवन जम्मा दुई दिनको बनाएको छ । ल दिदी म मर्दै छु । तिमीले आफ्नो पखेटाबाट सबैलाई खुशी पार्नू । मेरो सास रोकिन लाग्यो । ऐया… ऐया… मरे मरेँ ।’
पुतलीले फूललाई सहारा दिई; तर बचाउन सकिनँ । पुतली जोडसँग चिच्याएर रुन थाली र निष्ठुरी प्रकृतिसँग रिसाई– हे प्रकृति यति सुन्दर फूललाई किन मार्यौ ? यति छोटो जीवन किन दियौ ? तर कहिँबाट कुनै जवाफ आएन । अनि, मनमनै सोच्न थाली– जीवन छोटो नै किन नहोस्; तर सुन्दर होस् । जति बाचिन्छ, अरूको उपयोगी बन्नु नै जीवन र जिउनुको सार्थकता रहेछ ।