काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको आज ११ दिन भएको छ । जोखिम न्यूनीकरणका लागि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ ३ गते मध्यरात देखि उपत्यकाभित्र निषेधाज्ञा जारी गरेका थिए ।
लमो समयसम्म लकडाउन भएर भरखर खुलेको अवस्थामा पुनः निषेधाज्ञा जारी हुँदा जनजीवन कष्टकर बन्दै गएको छ । उपत्यकाका मुख्य सडकमा सवारी साधनको आवागमन न्यून देखिएको छ । यस्तै फुटपाथमा पनि मानिसहरुको आवागमन न्यून देखिन्छ ।
प्रहरीले सवारी साधनको चोकजाँचलाई कडाई पारेको छ । निषेधाज्ञा उलंघन गर्ने सवारी साधनलाई कारबाही स्वरुप दिनभर होल्ड गरेको छ । उपत्यकामा जारी भएको निषेधाज्ञा अटेरी गर्ने क्रम बढेपछि प्रहरीले चेकजाँचलाई कडाई गरेको हो ।
सडकमा अत्यावस्यक सेवा क्षेत्रका एम्बुलेन्स, स्वास्थ्य, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफुल ढुवानी लगायतका सवारी साधनहरु निर्वाधरुपमा सञ्चालनमा आएका छन् । तर विभिन्न अनलाइन व्यापारका लागि ढुवानी गर्ने सवारी साधनलाई भने प्रहरीले कारबाही गरेको देखिन्छ ।
उपत्यकाका भित्रि सडक क्षेत्र पनि सुनसान रहेका छन् । अत्यावस्यक वस्तु, तरकारी, खाद्यान्न लगायतका पसलहरु विहान ९ बजे सम्म खुलेको देखिन्छ भने दिउसोको समयमा पूर्णरुपमा बन्द रहेका छन् । मानिसहरु विहानको समयमा आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गर्ने गरेका छन् । औषधि पसलरु भने दिउसकोको समयमा पनि खुलेको देखिन्छ ।उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय भदौ १७ गते मध्यरात सम्मका लागि कायम गरेका छन् ।