लन्डन । बेलायतको उत्तरी क्षेत्रमा भारी वर्षासहित कडा हुरी आउँदा यहाँको जनजीवन प्रभावित भएको छ । आँधीका कारण आइतबार दशौँ हजार घर विद्युत्विहीन भएका छन् र यातायात सेवा अवरुद्ध भएका छन् । यस मौसममा बेलायतका आएको यो दोस्रो ठुलो आँधी हो ।
यसअघि शुक्रबार अस्टेन नाम दिइएको आँधीले देशका दक्षिणी क्षेत्रमा व्यापक प्रभाव पारेको थियो । इनर्जी नेटवक्र्स एसोसिएसनले बिहान ८ बजेसम्मको अपडेटमा ८२ हजार भन्दा बढी घरमा विद्युत् नभएको जनाएको छ । अस्टेनले पुर्याएको क्षतिपछि कटौती भएको विद्युत् सेवा झन्डै तीन लाख ५० हजार ग्राहकमा पुन: जडान गरिएको पनि एसोसिएसनले बताएको छ ।
आँधीका कारण भारी वर्षासहितको हुरी चल्ने चेतावनी जारी गरिएको स्कटल्यान्डमा आँधीपछि रुख ढलेका, बिजुलीका खम्बा ढलेका र र क्षतिग्रस्त सडक सतहका कारण सडक र रेलवे मार्ग बन्द गरिएका छन् ।
मौसमसम्बन्धी पूर्वानुमान गर्ने निकाय मेट अफिसका अनुसार पश्चिमी स्कटल्यान्डको आर्गाइल एन्ड ब्युटमा हावाको गति एक सय ३५ किलोमिटर प्रति घण्टासम्म पुगेको थियो । स्कटल्यान्ड र उत्तरी इङ्ल्यान्डमा भारी वर्षाको चेतावनी जारी गरिएको छ ।
केही क्षेत्रमा ८० मिलिमिटरसम्म वर्षा हुने अनुमान छ, जसले बाढीको सम्भावना बढाएको छ । उत्तरी आयरल्यान्ड पनि प्रभावित भएको छ, जहाँ बेलफास्टबाट हुने केही उडान रद्द भएका छन् ।
बेलफास्ट र उत्तर–पश्चिमी इङ्ल्यान्डबिच आयरिस समुद्र पार गर्ने डुङ्गा सेवा पनि अवरुद्ध बनेको छ । मेट अफिसले बोएलाबाट जोखिम रहेका क्षेत्रमा मानिसलाई सकेसम्म घरभित्रै रहन स्थानीय प्रशासनले निर्देशन जारी गरेको छ । (रासस/एएफपी)





