काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले असोज महिनामा पाँच हजार चार सय ३४ ओटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक नियमसम्बन्धी जानकारी प्रवाह गर्ने, सडक सुरक्षाबारे सचेतना अभिवृद्धि गर्ने तथा सुरक्षित यात्राका लागि नागरिकलाई प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार असोजमा विद्यालयमा प्रशिक्षणका २४, सचेतना कक्षाका चार सय २७, चालक तथा सहचालक लक्षित एक हजार छ सय छ, रात्रिकालीन सचेतनाका दुई हजार दुई सय ५२ र अन्य एक हजार एक सय २५ गरी कुल पाँच हजार चार सय ३४ कार्यक्रम सञ्चालन गरिएका हुन् । ती कार्यक्रममार्फत चार लाख ३६ हजार दुई सय ४३ जनालाई ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी जानकारी प्रदान गरिएको उनको भनाइ छ ।
विद्यालयमा आयोजित प्रशिक्षणमा तीन हजार पाँच सय १७, सचेतना कक्षामा चार हजार ७०, चालक तथा सहचालक लक्षित कार्यक्रममा एक लाख १५ हजार तीन सय ८६, रात्रिकालीन सचेतना कार्यक्रममा एक लाख तीन हजार आठ सय ६० र अन्य कार्यक्रममा दुई लाख नौ हजार चार सय १० जना सहभागी भएका कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई नियमको पालना गर्न, मादक पदार्थ, लागुपदार्थ सेवन गरी सवारी नचलाउन, तीव्र गतिमा सवारी नचलाउन तथा पैदलयात्री र अन्य सडक प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकता दिन आग्रह गर्दै आएको छ ।





