स्टकहोम, २२ असोज । लामो समयदेखि पुरुष तथा युरोपेली लेखकको वर्चस्व रहेको नोबेल साहित्य पुरस्कारका लागि यस वर्ष ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रका महिला लेखकको सम्भावना बलियो रहेको साहित्यिक समीक्षकहरूले बताएका छन् ।
नोबेल पुरस्कारका मनोनयन तथा निर्णायक मण्डलका छलफल ५० वर्षसम्म गोप्य रहने भएकाले विजेताको घोषणा हुनुअघि सम्भावित दाबेदारबारे व्यापक अनुमान हुने गरेको छ । यस वर्ष एन्टिगुआमा जन्मनुभएकी अमेरिकी लेखक जमैका किन्केड र चीनकी क्यान जु चर्चामा हुनुहुन्छ । किन्केडका कृतिमा क्यारिबियन संस्कृति, पहिचान, परिवार, उपनिवेशवाद र जातीय विषय समेटिएका छन् ।
स्विडेनी एकेडेमीले बिहीबार दिउँसो १ बजे (११०० जीएमटी) पुरस्कार घोषणा गर्नेछ । सन् २०१८ को यौन दुव्र्यवहारसम्बन्धी विवादपछि एकेडेमीका १८ सदस्यमध्ये आधाभन्दा बढी परिवर्तन भएका थिए । त्यसयता प्रत्येक दोस्रो साहित्य पुरस्कार महिलाले प्राप्त गरेका छन् ।
सम्भावित दाबेदारमा मेक्सिकोकी क्रिस्टिना रिभेरा गार्जा, स्पेनका एनरिक भिला–माटास, अस्ट्रेलियाका जेराल्ड मुर्नाने र आदिवासी लेखिका एलेक्सिस राइट तथा अमेरिकी लेखक थोमस पिनचोन पनि हुनुहुन्छ । स्विडेनी साहित्यिक समीक्षकहरूले भने लामो समयदेखि चर्चामा रहनुभएकी किन्केडको सम्भावनालाई विशेष रूपमा औँल्याएका छन् ।
सन् १९०१ देखि हालसम्म १२२ जनाले नोबेल साहित्य पुरस्कार प्राप्त गरेकामा १८ जना मात्र महिला रहेका छन् । एसियाली तथा मध्यपूर्वी भाषाका लेखकको प्रतिनिधित्व पनि न्यून रहेको र कुनै अफ्रिकी भाषाका लेखकले पुरस्कार नपाएको भन्दै एकेडेमीको आलोचना हुँदै आएको छ । यद्यपि एकेडेमीले साहित्यिक कृतिको गुणस्तरलाई नै मुख्य आधार मान्ने बताउँदै आएको छ ।
साहित्य समीक्षक लिना कालमेटेगले पछिल्लो समय ल्याटिन अमेरिकामा महिला लेखकको नयाँ पुस्ता प्रभावशाली बन्दै गएको बताउनुभयो । अर्जेन्टिनाकी सामन्ता स्वेब्लिनलाई उहाँले सम्भावित रोचक छनोटका रूपमा उल्लेख गर्नुभयो । दक्षिण अमेरिकाबाट पछिल्लोपटक सन् २०१० मा पेरुका मारियो वर्गास ल्योसाले नोबेल साहित्य पुरस्कार प्राप्त गर्नुभएको थियो ।
जर्मनीकी जेनी एर्पेनबेक र भियतनामकी डुओङ थु हुओङ पनि सम्भावित दाबेदारका रूपमा चर्चामा हुनुहुन्छ । एर्पेनबेकले ‘काइरोस’ का लागि सन् २०२४ को अन्तर्राष्ट्रिय बुकर पुरस्कार प्राप्त गर्नुभएको थियो ।