वासिङ्टन, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गर्दै आफूले दोस्रो कार्यकाल सुरु गरेयता आठवटा द्वन्द्व समाधान गरेको बताउनुभएको छ ।
बुधबार ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले पुरस्कारको घोषणा शुक्रबार हुने उल्लेख गर्दै “यो समयको कुरा हो” भन्नुभयो । आफूले पुरस्कार पाए पनि नपाए पनि शान्तिका लागि अरूभन्दा बढी काम गरेको उहाँको दाबी थियो ।
“मैले अरू कसैले नगरेको काम गरेको छु । मैले घमण्ड गरिरहेको छैन, म तपाईंहरूलाई तथ्य मात्र बताउँदैछु । मैले आठवटा युद्ध समाधान गरेँ”, उहाँले भन्नुभयो ।
ट्रम्पले नोबेल समितिले आफूजस्ता व्यक्तिलाई पुरस्कार नदिने प्रतिष्ठा बनाएको टिप्पणी गर्दै आफूलाई पुरस्कार नदिइए पनि त्यसले आफूले गरेका कामको महत्त्व कम नहुने बताउनुभयो । उहाँले सन् २००९ मा तत्कालीन राष्ट्रपति बाराक ओबामालाई नोबेल शान्ति पुरस्कार दिइएको विषयमा समेत प्रश्न उठाउनुभयो ।
ट्रम्पले गत वर्ष नोबेल शान्ति पुरस्कार पाउनुभएकी भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोसँगको भेटको पनि उल्लेख गर्दै उहाँले आफ्नो पदक आफूलाई दिएको दाबी गर्नुभयो ।
ट्रम्प प्रशासनले आर्थिक दबाब, व्यापार रणनीति र महसुलमार्फत विभिन्न देशलाई कूटनीतिक वार्तामा ल्याउन सफल भएको दाबी गर्दै आएको छ । तर डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो तथा कम्बोडिया–थाइल्यान्ड सीमा क्षेत्रमा पुनः द्वन्द्व देखिएको र युक्रेनमा स्थायी शान्ति कायम हुन नसकेको भन्दै उहाँको दाबीमाथि प्रश्न उठाइएको छ । मध्यपूर्वमा इरानसँग सम्बन्धित निरन्तर तनावले पनि उहाँको शान्ति प्रयासलाई चुनौती दिएको छ ।
नोबेल शान्ति पुरस्कार नर्वेको ओस्लोस्थित नर्वेजियन नोबेल समितिले स्वतन्त्र रूपमा प्रदान गर्छ । सन् २०२६ का सम्भावित दावेदारमा पोप लियो, अन्तर्राष्ट्रिय फौजदारी अदालत र प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदकलगायतका नाम चर्चामा छन् ।