काठमाडौँ । अमेरिका–इरान युद्धका कारण विश्व बजारमा इन्धन आपूर्तिमा समस्या देखिएसँगै पेट्रोलियम पदार्थको मूल्य बढेपछि विभिन्न देशमा विरोध प्रदर्शन र हडताल चर्किएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेपछि सिरिया, ग्वाटेमाला, पोर्चुगल, फ्रान्स र फिलिपिन्समा नागरिक, व्यवसायी तथा यातायात मजदुरले इन्धन मूल्य नियन्त्रण र राहतको माग गर्दै प्रदर्शन गरेका छन्।
सिरियामा डिजेलको मूल्य करिब ४० प्रतिशत बढेपछि सडक अवरुद्ध गरी प्रदर्शन गरिएको छ। ग्वाटेमालामा ट्रक चालक र आदिवासी समूहले राजमार्ग बन्द गरेका छन्। पोर्चुगलमा व्यवसायी तथा श्रमिकले महँगो इन्धन र बढ्दो जीवनयापन खर्चको विरोध गरेका छन् भने फ्रान्समा माछा व्यवसायीले इन्धन डिपो अवरुद्ध गरेका छन्।

फिलिपिन्समा यातायात मजदुरले इन्धनमा अनुदान र कर हटाउन माग गर्दै हडताल गरेका छन्। सरकारले भने इन्धन मूल्यवृद्धिको असर कम गर्न विभिन्न राहत तथा कर कटौतीका उपाय अघि बढाएको जनाएको छ।
विशेषगरी तेल आयातमा निर्भर देशमा महँगो इन्धनले यातायात, कृषि, उद्योग, व्यापार र दैनिक उपभोग्य वस्तुको लागत बढाएको छ। पछिल्ला घटनाले ऊर्जा आपूर्ति संकटको प्रभाव विश्वव्यापी रूपमा नागरिकको दैनिक जीवन र अर्थतन्त्रमा परेको देखाएको छ।

