नेपालगञ्ज । बाँके जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु उद्योग तथा वाणिज्य फर्मबाट दुई हजार ८०० बढी नयाँ रोजगारी सिर्जना भएका छन् ।
जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त प्रमुख उद्योग अधिकृत मोहन घर्तीमगरले सो जानकारी दिएका हुन् ।
आर्थिक वर्ष २०८२/८३ मा उद्योग तथा वाणिज्य प्रशासनअन्तर्गत दर्ता भएका छ सय २७ उद्योग र छ सय २६ वाणिज्य फर्मबाट दुई हजार आठ सय ६१ जनाले नयाँ रोजगारी पाएका छन्न ।
घर्तीमगरका अनुसार एक हजार छ सय ८८ पुरुष र एक हजार एक सय ७३ महिलाका लागि रोजगारी सिर्जना भएको छ । यो अवधिमा चार सय ३६ पुरुष र दुई सय ३७ महिला गरी छ सय ७३ जना नयाँ उद्यमी उत्पादन भएका छन् ।
गत आवमा छ सय २७ नयाँ उद्योग दर्ता भएसँगै बाँकेमा कुल उद्योग सङ्ख्या १५ हजार आठ सय सात पुगेको छ । यस अवधिमा एक हजार एक सय एक उद्योग नवीकरण भएका छन् भने दुई सय ६५ उद्योग खारेजीमा परेका अधिकृत घर्तीमगरले जानकारी दिए । आव २०८१/८२ मा छ सय ५७ दर्ता, एक हजार ४२ नवीकरण र तीन सय नौ खारेज भएका थिए ।
वाणिज्यतर्फ छ सय २६ नयाँ फर्म दर्ता भई कुल दर्ता सङ्ख्या २१ हजार नौ सय ८० पुगेको छ । एक हजार छ सय ८८ फर्म नवीकरण र तीन सय ५६ फर्म खारेज भएका निमित्त प्रमुख उद्योग घर्तीमगरले बताए । आव २०८१/८२ मा सात सय १२ दर्ता, एक हजार छ सय ६१ नवीकरण र पाँच सय २७ खारेजी भएका थिए ।
कार्यालयले व्यावसायिक नियमन तथा गुणस्तर कायम राख्न वर्षभरिमा सातपटक बजार अनुगमन र ११ पटक उद्योग निरीक्षण गरेको उहाँले जानकारी दिए । मगरका अनुसार आव २०८२/८३ मा कार्यालयका लागि विनियोजित कुल बजेट रु तीन करोड तीन लाख ९२ हजार रहेकामा कुल खर्च रु दुई करोड २५ लाख १२ हजार नौ सय ५० भएको छ । समग्र रूपमा यस कार्यालयको कुल वित्तीय प्रगति ७४ दशमलव शून्य आठ प्रतिशत हासिल भएको छ ।
गत आर्थिक वर्षमा कुल राजस्व सङ्कलन रु एक करोड ६३ लाख सात हजार सात सय ९५ भएको उद्योग अधिकृत घर्तीमगरले जानकारी दिए ।
अघिल्लो आवमा रु एक करोड ९७ लाख ३१ हजार सात सय ८५ राजस्व सङ्कलन भएको थियो । राजस्व सङ्कलन घट्नुको मुख्य कारण उद्योग तथा वाणिज्यको नयाँ दर्तामा आएको सामान्य शिथिलता, स्थानीय तहमा दर्ता सुरुआत, प्रदेश सरकारबाट भएको छुट सुविधा र खारेजीमा वृद्धि हुनुलगायत रहेका निमित्त प्रमुख घर्तीमगरको भनाइ छ । (रासस)
