काठमाडौँ, भदौ १५ । रसुवाका प्रतिनिधिसभा सदस्य मोहन आचार्यले भोटेकोशी बाढीपछि उद्धार तथा राहत वितरणमा तीन तहका सरकार र स्थानीय जनप्रतिनिधिबीच प्रभावकारी समन्वय हुन नसकेको बताएका छन्।
उनका अनुसार नेपाली सेनाले उद्धारमा महत्वपूर्ण भूमिका खेले पनि हाइड्रोपावरका टनेलमा फसेका मानिसको उद्धारका लागि आवश्यक विशेष जनशक्ति र उपकरण परिचालन हुन सकेको छैन । रसुवाका करिब ६ वटा हाइड्रोपावरका टनेलमा समस्या रहेको र रसुवागढीमा २५–३० जना तथा चिलिमेमा ६ जना फसेको जानकारी आएको उनले बताए।
सडक सञ्जाल अवरुद्ध हुँदा शव व्यवस्थापन, राहत सामग्री, औषधि तथा बिरामीलाई अस्पताल पुर्याउनसमेत कठिनाइ भइरहेको आचार्यको भनाइ छ । कतिपय बिरामीको औषधि सकिन लागेको, अक्सिजनको अभाव रहेको र डायलाइसिस आवश्यक पर्ने बिरामीलाई अस्पताल लैजान नसकिएको उनले बताए ।
रसुवामा राहत पुर्याउन कतिपय स्थानमा एयरड्रपबाहेक विकल्प नभएको भन्दै उनले चाउचाउ र पानी मात्र नभई चामल, नुन, तेल, ग्यास, चुलो तथा ओढ्ने–ओछ्याउने सामग्री आवश्यक रहेको बताए।
टनेलमा फसेकाहरूका परिवारबाट दैनिक सयौँ फोन आउने गरेको उल्लेख गर्दै आचार्यले भने, “सरकार के गर्दैछ भन्ने मलाई पनि थाहा छैन। तर सबै मसँग कराइरहेका छन्।” उनले उद्धारका लागि आवश्यक परे विदेशी विशेषज्ञ जनशक्ति र उपकरणसमेत तत्काल ल्याउन सरकारसँग आग्रह गरेका छन्।

