काठमाडौं, भदौ १३ । चीनतर्फबाट रसुवा हुँदै आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा हुँदै चितवनसम्मका विभिन्न जिल्लामा ठूलो जनधन तथा भौतिक क्षति भएकोप्रति नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले दुःख व्यक्त गरेको छ।
महासंघले बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताको खोजी तथा उद्धार कार्य तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ।
महासंघका अनुसार बाढीबाट प्रभावित जिल्लामा सञ्चालित क्रसर तथा खानी उद्योग, बालुवा प्रशोधन उद्योगका भौतिक संरचना तथा स्काभेटर, लोडर, टिपरलगायत मेसिनरीमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। विद्युत् तथा अन्य पूर्वाधारमा भएको क्षतिले उद्योग सञ्चालनमा समेत गम्भीर असर परेको महासंघले जनाएको छ।
महासंघले प्रभावित उद्योगी–व्यवसायीलाई क्षतिको यथार्थ विवरण संकलन गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालय र महासंघमा उपलब्ध गराउन आग्रह गरेको छ। साथै, सरकारको खोज, उद्धार तथा राहत अभियानमा निजी क्षेत्रबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएको छ।
बाढीबाट क्षतिग्रस्त उद्योग तथा संरचनाको पुनर्निर्माण र पुनःस्थापनाका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको जनाउँदै महासंघले विपद्मा परेका नागरिकको उद्धार, राहत र पुनःस्थापनालाई पहिलो प्राथमिकतामा राख्न तथा आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्न उद्योगी–व्यवसायी र आम नागरिकमा अपिल गरेको छ।


