काठमाडौँ । बैंकमा खाता खोलेर त्यसको विवरण र पहुँच अरूलाई दिँदा सजिलै पैसा कमाउन सकिने प्रलोभनमा परेका कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरू अहिले गम्भीर कानुनी झमेलामा परेका छन् । आफ्नै सहपाठीको विश्वासमा परेर बैंक खाता खोलेका विद्यार्थीहरूको खातामार्फत अनलाइन जुवा, डिजिटल ठगी तथा शंकास्पद आर्थिक कारोबार भएको खुलेपछि उनीहरू अनुसन्धानको दायरामा आएका हुन्।
प्राप्त विवरणअनुसार क्याम्पसमा अध्ययनरत विवश भट्टराईले आफ्ना सहपाठीहरूलाई विभिन्न प्रलोभन देखाउँदै बैंक खाता खोल्न लगाएका थिए । कसैलाई विदेशमा रहेका आफन्तका लागि अनलाइन गेम खेल्न खाता आवश्यक परेको बताइएको थियो भने कसैलाई एउटा खाता उपलब्ध गराएबापत सात हजार रुपैयाँसम्म दिने आश्वासन दिइएको थियो।
साथीको विश्वासमा परेका विद्यार्थीहरूले नबिल, एनआईसी एशिया, सिद्धार्थ, प्राइम, कुमारी र ग्लोबल आईएमईलगायत विभिन्न बैंकमा आफ्नै नाममा खाता खोलेर खाता विवरण, एटीएम, चेक तथा बैंकसँग जोडिएको मोबाइल सिमसमेत विवशलाई उपलब्ध गराएको बताइएको छ । ती खाताहरू पछि अनलाइन बेटिङ तथा डिजिटल ठगीमा प्रयोग भएको अनुसन्धानबाट खुलेको छ ।
एउटै विद्यार्थीका खातामा करोडौँको कारोबार
सर्लाहीका आनन्द शाह पनि यही प्रलोभनमा परेका विद्यार्थीमध्ये एक हुन् । उनका नाममा विभिन्न बैंकमा खोलिएका खातामार्फत करिब एक करोड रुपैयाँ बराबरको कारोबार भएको विवरण भेटिएपछि उनी अनुसन्धानको दायरामा आएका छन् । आफूले खाताको वास्तविक प्रयोग र कारोबारबारे जानकारी नपाएको उनको भनाइ छ।
त्यस्तै, दोलखाकी विभूषा पाख्रिन तामाङलाई पनि विभिन्न प्रलोभन देखाएर छवटा बैंक खाता खोल्न लगाइएको बताइएको छ । तीमध्ये पाँचवटा खाता प्रयोग भएको र उनको नाममा करिब ४९ लाख रुपैयाँ बराबरको अवैध कारोबार देखिएको जनाइएको छ । उनका विरुद्ध विभिन्न घटनासँग सम्बन्धित उजुरीसमेत परेको बताइएको छ।
अचानक आफ्नै खाताबाट ठगी भएको भन्दै देशका विभिन्न स्थानबाट फोन आउन थालेपछि विद्यार्थीहरू झस्किएका थिए । आफूले कुनै अवैध कारोबार नगरे पनि खातामा भएको कारोबारका कारण कानुनी समस्यामा परेपछि उनीहरू मानसिक तनावमा परेको बताइएको छ ।
खाताधनी विद्यार्थी, रकम भने ठगी गर्ने गिरोहको
अनुसन्धानका क्रममा विद्यार्थीहरूका खातामा जम्मा भएको रकम वास्तविक खाताधनीको नभएको देखिएको छ । कास्कीका दीपक नाम गरेका एक युवकसमेत यही डिजिटल ठगीको शिकार बनेका थिए। उनलाई त्भभिनचबm मार्फत सम्पर्क गरी अनलाइन खेल तथा विभिन्न ‘टास्क’ पूरा गरेर ठूलो रकम कमाउन सकिने प्रलोभन देखाइएको थियो ।
Pokémon Center नामको लिंकमा प्रवेश गराएर विभिन्न टास्क पूरा गर्न लगाइएको र सुरुमा रकम लगानी गरेपछि बढी रकम फिर्ता पाइने विश्वास दिलाइएको उनको भनाइ छ । अन्तिम टास्कका नाममा ठूलो रकम जम्मा गर्न लगाएपछि आफू ठगीमा परेको महसुस भएको उनले बताएका छन् । त्यसपछि उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए ।
यसरी ठगीमा परेको रकम भने विभिन्न विद्यार्थीका बैंक खातामा जम्मा गराउने र ती खाताहरूको पहुँच प्रयोग गरी रकम अन्यत्र सार्ने गरिएको अनुसन्धानबाट खुलेको बताइएको छ ।
सयौँ व्यक्ति अनुसन्धानको दायरामा
प्रहरी अनुसन्धानका क्रममा यो प्रकरण एक–दुई व्यक्तिमा सीमित नभई ठूलो नेटवर्कसँग जोडिएको देखिएको छ। हालसम्म तीन सय पचासभन्दा बढी पीडित तथा उजुरीकर्ताहरू अनुसन्धानको सम्पर्कमा आएको जनाइएको छ।
अनुसन्धानमा विवश भट्टराईसँगै उदयपुरको बेलका नगरपालिका–४ का २४ वर्षीय रितेश पौडेल खत्रीसमेत जोडिएको बताइएको छ। प्रहरीसमक्ष दिइएको बयानअनुसार विवशले संकलन गरेका कागजात तथा अवैध कारोबारबाट आएको रकम रितेशलाई बुझाउने गरेको दाबी गरिएको छ।
रितेशले उदयपुर क्षेत्रमा समेत नागरिकता र व्यक्तिगत विवरण संकलन गरी त्यसको आधारमा बैंक तथा डिजिटल वालेटका खाता खोल्न लगाएको अनुसन्धानबाट खुलेको बताइएको छ। राजनीतिक दलको क्रियाशील सदस्य बनाउने, मतदाता परिचयपत्र नवीकरण गर्ने वा कृषि फर्मका लागि कागजात आवश्यक परेको जस्ता बहाना बनाएर नागरिकता तथा फोटो संकलन गरिएको आरोप छ।
संकलित कागजातका आधारमा पीडितकै नाममा बैंक तथा ई–सेवा खाताहरू खोलिएको र ती खातामा अनलाइन बेटिङ तथा डिजिटल ठगीबाट आएको रकम कारोबार हुने गरेको अनुसन्धानमा देखिएको जनाइएको छ।
‘खाता मात्रै दिएको’ भन्दै उम्किन कठिन
यस प्रकरणले आफ्नो बैंक खाता, एटीएम, चेक वा मोबाइल सिम अरूलाई प्रयोग गर्न दिने कार्य कति जोखिमपूर्ण हुन सक्छ भन्ने प्रश्नसमेत उठाएको छ । खाताधनीले स्वयं ठगी नगरेको दाबी गरे पनि आफ्नो नाममा भएको कारोबारका कारण अनुसन्धान र कानुनी प्रक्रियामा सहभागी हुनुपर्ने अवस्था आउन सक्छ ।
प्रहरी अनुसन्धानले वास्तविक ठग र उनीहरूले प्रयोग गरेका खाताधनीबीचको सम्बन्ध, रकमको स्रोत, खाताको पहुँच कसले प्रयोग गर्यो भन्ने विषय स्पष्ट पार्ने प्रयास गरिरहेको छ। घटनामा संलग्न मुख्य व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेको बताइएको छ ।
यो घटनाले विशेषगरी विद्यार्थी तथा युवाहरूलाई छिटो पैसा कमाउने प्रलोभनमा बैंक खाता, एटीएम, चेक, नागरिकता, मोबाइल सिम वा डिजिटल वालेटको पहुँच अरूलाई नदिन महत्वपूर्ण सन्देश दिएको छ । आफ्नै परिचित वा साथीले आग्रह गरे पनि आफ्नो नाममा खोलिएको वित्तीय खाताको जिम्मेवारी खाताधनीकै हुने भएकाले कुनै पनि व्यक्तिलाई खाता सञ्चालनको पहुँच दिनुअघि पर्याप्त सावधानी अपनाउन आवश्यक देखिन्छ ।