काठमाडौँ । चल्ला बोकेर प्रतीकात्मक विरोध गर्दै देशैभरिका पोल्ट्री व्यवसायी (कुखुरापालक किसान) हरू माइतीघर मण्डलामा देखिएका छन् ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई १२ बुँदे ज्ञापन बुझाएसँगै उनीहरूले २०८३ भदौ ८ गते आइतबार विरोध प्रदर्शन गरेका हुन् ।
मागपत्रमा उनीहरूले भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली पोल्ट्री किसानको लगानी संरक्षण गर्नुपर्नेलगायतका विभिन्न माग लिपिबद्ध गरिएको छ ।
चल्ला बोकेर प्रदर्शनमा सहभागी किसानले भारतीय कुखुरा तथा कुखुराजन्य वस्तुको अवैध आयातले नेपाली पोल्ट्री व्यवसाय प्रभावित भएको भन्दै तत्काल तस्करी नियन्त्रण गर्न सरकारसँग माग गरे ।
उनीहरूले बिचौलियाका कारण किसानले उचित मूल्य नपाउने अवस्था रहेको भन्दै पोल्ट्री क्षेत्रमा किसानको लगानी सुरक्षित हुने गरी प्रभावकारी नीति तथा अनुगमनको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
प्रदर्शनकारीले नेपालको पोल्ट्री उद्योगलाई संरक्षण गर्दै उत्पादन लागतअनुसार उचित मूल्य सुनिश्चित गर्नुपर्नेमा समेत जोड दिए ।

यस्तो छ, उनीहरूको १२ बुँदे मागपत्र :
“उपर्युक्त सम्बन्धमा हामी देशभरका कुखरापालक किसानहरू हाल भोगिरहेको समस्या समाधानका लागि तपसिलअनुसारका माग सम्बोधन गरिदिनुहुनका लागी हार्दिक अनुरोध गर्दछौँ :
१. किसानले उत्पादन गरेको कुखुराको मूल्य निर्धारण गर्ने अधिकार किसानलाई प्रदान गरिनुपर्छ । किसानको लागत, जोखिम र लगानीलाई आधार मानी न्यूनतम समर्थन मूल्य कायम गरिनुपर्छ ।
२. ह्याचरी सङ्घले तोकेको चल्लाको मूल्यभन्दा पनि किसानले बढी मूल्य तिर्नुपर्ने अवस्था अन्त्य गरिनुपर्छ । चल्लाको मूल्य, गुणस्तर र आपूर्तिमा पारदर्शी व्यवस्था लागु गरिनुपर्छ । चल्लाको गुणस्तर सुनिश्चित गर्न ह्याचरीको नियमित अनुगमन, मापदण्ड पालनाको व्यवस्था र कमजोर गुणस्तरका चल्ला बिक्री गर्ने कार्य नियन्त्रण गरिनुपर्छ ।
३. दाना कम्पनीले गुणस्तरीय दाना उपलब्ध गराउनुपर्ने र गुणस्तरमा समस्या आएमा किसानको गुनासो समाधान गर्ने प्रभावकारी निकायको व्यवस्था गरिनुपर्छ ।
४. देशभरिका किसानले आफ्नो क्षेत्रको कुखुराको दैनिक वास्तविक बजार मूल्य सहज रूपमा थाहा पाउने पारदर्शी मूल्य सूचना प्रणालीको व्यवस्था गरिनुपर्छ ।
५. किसानले उत्पादन गरेको कुखुराले उचित बजार र उचित मूल्य पाउने सुनिश्चितता गरिनुपर्छ ।
६. सङ्गठित रूपमा भारतबाट अवैध रूपमा भइरहेको कुखुरा तथा चल्ला तस्करी नियन्त्रण गरी नेपाली किसानको उत्पादनलाई संरक्षण गरिनुपर्छ ।
७. कुखुरा पालन किसानलाई आधुनिक प्रविधि, प्राविधिक सेवा र विज्ञ परामर्श उपलब्ध गराउने स्थायी व्यवस्था गरिनुपर्छ ।
८. रोग पहिचान तथा नियन्त्रणका लागि प्रत्येक क्षेत्रमा गुणस्तरीय प्रयोगशालाको व्यवस्था गरिनुपर्छ, जसले किसानलाई समयमै सेवा प्रदान गर्न सकोस् ।
९. किसानका समस्या, गुनासा र सुझाव सुन्न तथा समाधान गर्न कुखुरापालन क्षेत्रका लागि छुट्टै प्रभावकारी आयोग वा संयन्त्र गठन गरिनुपर्छ ।
१०. किसानलाई हुने काँटातराजु ठगी, तौलमा हुने अनियमितता, बिचौलियाको नाममा हुने कटौती तथा सङ्घको नाममा पोल्ट्री स्टोरले किसानको मूल्यबाट प्रतिकिलो रु. १०–२० घटाउने कार्य तत्काल अन्त्य गरिनुपर्छ, साथै बिचौलियाको योजनाबद्ध ट्र्यापमा पारेर किसानलाई लुट्ने सम्पूर्ण प्रवृत्ति नियन्त्रण गरी किसानले पाउनुपर्ने रकम पूर्ण रूपमा पाउने व्यवस्था गरिनुपर्छ ।
११. बजारको नियमित अनुगमन गरी बजारको मागअनुसार मात्र चल्ला उत्पादन र कुखुरा उत्पादनको योजना बनाउने व्यवस्था लागु गरिनुपर्छ, जसले मूल्यमा हुने अस्थिरता नियन्त्रण गर्न सहयोग पुर्याओस् ।
१२. प्रत्येक प्रदेशमा सरकारको पहलमा कुखुरा भण्डारणको व्यवस्था गरिनुपर्छ । उत्पादन बढी भएको समयमा किसानले बाध्य भएर सस्तो मूल्यमा बिक्री गर्नुपर्ने अवस्था अन्त्य गर्न, किसानको उत्पादन सुरक्षित राख्ने र बजार व्यवस्थापन गर्न प्रत्येक प्रदेशमा सरकारी वा सहकारी माध्यमबाट कुखुरा भण्डारण केन्द्र स्थापना गरिनुपर्छ ।
