काठमाडौँ, भदौ ७ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । तर राप्रपाभित्रको विवाद र मत विभाजनका कारण मुख्यमन्त्री थापाको विश्वासको मत परीक्षा निकै चुनौतीपूर्ण बनेको छ ।
राप्रपाले आफ्ना सांसदलाई विश्वासको मतको विपक्षमा मतदान गर्न, तटस्थ रहन वा अनुपस्थित हुन ह्विप जारी गरेपछि मुख्यमन्त्री थापाको सरकार संकटमा परेको छ । राप्रपाका १२ सांसदमध्ये कम्तीमा दुई जनाको समर्थन पाए थापाको सरकार जोगिने अवस्था छ ।
एमालेको सरकारमा सहभागी राप्रपाका तीन मन्त्रीलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद तथा मन्त्री पदबाट हटाउन सिफारिस गरेका छन् । यस विषयमा पार्टीभित्र कारबाही प्रक्रिया अघि बढेको छ ।
यता सत्तारूढ नेकपाले मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ भने कांग्रेसका ३६ सांसदले विपक्षमा मतदान गर्ने भएका छन् ।
नेमकिपा र हाम्रो नेपाली पार्टीले पनि सरकारको पक्षमा मतदान नगर्ने जनाएका छन् ।
१०४ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५३ मत आवश्यक भए पनि एमाले र नेकपाको गरी ५० मत मात्र पुग्ने भएकाले राप्रपाको समर्थन निर्णायक बनेको छ ।