काठमाडौँ । देशका वामपन्थी विद्यार्थी नेताहरूले नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहलगायत उक्त पार्टीका शीर्ष नेतासित भेटवार्ता गरेका छन् ।
विद्यार्थी नेताहरूले २०८३ साउन २७ गते बुधबार कपनस्थित राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयमा सो भेटघाट गरेका हुन् ।
उनीहरूले सो अवसरमा राजमो कार्यवाहक अध्यक्ष रश्मिराज नेपाली, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, मसालका प्रवक्ता रामप्रकाश पुरी, राजमो नेता वासुदेव पोखरेलसित पनि भेट गरेका थिए ।
महामन्त्री सिंहसित भेट गरी विद्यार्थी नेताहरूले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नेपर्नेमा जोड दिएका थिए ।
टुटफुट र विभिन्न गुटमा छरिएका कम्युनिस्ट पार्टीलाई शीर्ष नेता भएका कारण महामन्त्री सिंहले एकीकृत गरेर नेपालको सिङ्गो कम्युनिस्ट आन्दोलनको नेतृत्व गरेर अगाडि बढ्नुपर्ने आकाङ्क्षा आफूहरू राखेको बताए ।
विद्यार्थीहरूको चासोलाई महामन्त्री सिंहले सकारात्मक रूपमा लिएको बताउनुभयो ।
‘माक्र्सवादी–लेनिनवादीको दर्शनलाई ठिकसँग अवलम्बन गरे सबै कम्युनिस्ट पार्टीहरू एक ठाउँमा हुने सम्भावना छ’ महामन्त्री सिंहले भन्नुभयो– ‘वर्तमान अवस्थामा नेपालका सबै वामपन्थीहरू देशको राष्ट्रियताको रक्षा र साम्राज्यवादी शक्तिका विरुद्ध एकता वा कार्यगत एकताका लागि पहल भइरहेको छ ।’
नयाँ वा पुराना सबै व्यक्तिवादी महŒवाकाङ्क्षाभन्दा माथि उठेमा मात्रै क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन सकिने सिंहको धारणा थियो । त्यसका साथै नयाँ पिँढीलाई माक्र्सवादी–लेनिनवादी दर्शन ठिकसँग अध्ययन गराउनुपर्नेमा महामन्त्रीले जोड दिनुभयो ।
कुन पार्टी कम्युनिस्ट हो वा होइन तथा क्रान्तिकारी छ वा छैन भन्ने कुरा उसको राजनीतिक गतिविधि र बेलाबेलामा प्रकट हुने उसका धारणा र व्यवहारबाट नै पहिचान हुने सिंहले बताउनुभयो ।
चुनाव, संयुक्त मोर्चा, राजनीतिक व्यवस्थालाई बुझ्ने सवालमा माक्र्सवादी–लेनिनवादी दर्शन अवलम्बन भएको छ वा छैन ? त्यसबारेमा नयाँ विद्यार्थीहरूले ठिकसँग पहिचान गर्नुपर्ने भनाइ उहाँको थियो ।
भेटवार्तामा अखिल (छैठौं) का अध्यक्ष सुवास जिसी, केन्द्रीय सदस्य समष्टी बुढा, अखिल (छैठौं) कै मिलन सिंह, सगर सुवेदी, अखिल समाजवादीका नरेन्द्र सी, ललित सी, सुवास सी, अखिल (बहुमत) का वीरेन्द्र शाह, अखिल क्रान्तिकारीका महेश श्रेष्ठ, रूपा बुढामगर, नवीन खड्का, दिनेश जोशी, हरि विष्ट, गोविन्द विष्ट, रमेश सुनार, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका ह्याल तामाङ, फूलमती, जनपक्ष्ीाय विद्यार्थी सङ्गठनका सुनिता बुढाथोकीलगायतको उपस्थिति थियो ।