रोल्पा । रोल्पामा पहिरोमा परि मृत्यु हुनेको संख्या तीन पुगेको छ भने ९ जना बेपत्ता अझै भएका छन् भने २ जना घाइतेको उद्धार गरिएको छ ।
रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा बुधबार राति आठ बजेर ४० मिनेट जाँदा घरमाथिबाट पहिरो झरेको थियो । पहिरोमा कमलबहादुर पुनमगरलगायत ६ वटा घर गोठहरु पुरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाले दिएको जानकारी अनुसार पहिरोमा परेर थबाङ गाउँपालिका–५ का ६० वर्षीय कमलबहादुर पुनमगर, १८ वर्षीय शान्ती पुन मगर र ७१ वर्षीया मनरखी पुनमगरको मृत्यु भएको छ ।
पहिरोमा परेर २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन् ।
प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी राखिएको छ । घाइतेहरुलाई उपचारका लागि बाहिर लैजाने तयारी गरिएको छ ।
बेपत्ता हुनेमा सोही ठाउँकी ४० वर्षीया जुनकुमारी पुनमगर, ९ वर्षीय अशिम पुनमगर, ६ वर्षीय अशोक पुनमगर, ७५ वर्षीय डलबहादुर पुनमगर, ८० वर्षीय अजम्बर पुनमगर, ७८ वर्षीय बलबहादुर पुनमगर, ७२ वर्षीय लिलबहादुर पुनमगर, ७१ वर्षीया मनी पुनमगर र ६७ वर्षीया हस्तकला रोकामगर रहेका छन् ।
पहिरोमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखुले बताएका छन् । ‘बेपत्ता एक जनाको शव फेला परेको छ । अन्य ९ जना बेपत्ताको खोजी कार्य जारी रहेको छ’, डीएसपी बाखुले भने ।
पहिरोको थप विवरण आउन बाँकी रहेको छ ।