पछिल्लो समयमा सरकारप्रतिको जनताको निराशा बढ्दै गएको, चरम भ्रष्टाचार, अन्याय र अत्याचारका विरुद्ध श्रीलङ्का, नेपाल र भारतमा छात्रहरूले ठूला–ठूला आन्दोलन गरेर सत्ता समेत परिवर्तन गरिदिएका छन् भने कतै सरकारलाई आफ्ना माग राखेर झुकाउन बाध्य पारेका छन् । आजको चर्चा भारतको दिल्ली जन्तरमन्तरमा भएको जेनजी आन्दोलनको बारेमा गरौँ ।
भारतमा निट पेपर लिक भएपछि चिफ जस्टिस सूर्यकान्तले मे १५, २०२६ का दिन– ‘निट पेपर लिकको विरोध गर्ने नालीका किरा, साङ्ला हुन्, यीनीहरूको विरोधले केही फरक पर्दैन’ भन्ने गैरजिम्मेवार शब्द प्रयोग गरेका थिए ।
त्यसको भोलिपल्ट मे १६, २०२६ मा महाराष्ट्रमा घर भइ अमेरिकामा नोकरी गर्दै आएका एक शिक्षित व्यक्ति अभिजीत दिपकेले इन्स्टाग्रामद्वारा कक्रोज जनता पार्टी (सिजेपी)को स्थापना गरेका थिए । उक्त इन्स्टाग्राम आईडीका फलोअर्सहरू २४ घण्टामा भाजपा र काँग्रेसका भन्दा बढी भएका थिए । अपमानजनक शब्द प्रयोग गरेको भन्दै इन्स्टाग्राममा पार्टी गठन भएपछि देशभरि आगोझैँ सल्किँदै सिजेपीका समर्थकहरू बढ्दै गएका थिए ।
जुन ६, २०२६ गते बिहान अमेरिकाबाट अभिजीत दिपके सिधै एयरपोर्ट आउँछन् र दिल्लीको जन्तरमन्तरमा एउटा कार्यक्रममा सहभागी भई शिक्षाको क्षेत्रमा भएको अनियमितताका विरुद्ध आवाज उठाएका थिए। यतिबेलासम्म उनका सहयोगी साथीहरूले पत्रकार सम्मेलन गरी आफ्ना एजेन्डाहरू सार्वजनिक गरिसकेका थिए ।
जुन ६ का दिन दिल्लीको विरोध प्रदर्शनपछि देशका अन्य भागहरू कानपुर, बेंगलोर, पटना लगायतका ठाउँहरूमा आन्दोलन चर्किंदै गएपछि आन्दोलनलाई मूर्त रूप दिन जन्तरमन्तरलाई आन्दोलनको केन्द्र बनाएका थिए । शान्तिपूर्ण आन्दोलनमा सामाजिक कार्यकर्ता तथा पर्यावरण एवं शिक्षाविद् सोनम वाङचुकको समर्थन र २६ दिनको भोक हड्तालले आन्दोलन अझ उचाइमा पुगेको थियो । सोसल मिडियाद्वारा फैलिएको आन्दोलनमा विभिन्न राजनीतिक दलहरू, बुद्धिजीवी र आम जनताको ठूलो समर्थन मिलेपछि जुलाई २०, २०२६ गते “संसद घेराउ” कार्यक्रमको घोषणा गरेका थिए ।
विभिन्न व्यक्ति र मोदी सरकारका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले समेत यो आन्दोलन आतंककारी समूहको ‘बी’ टिम हो भनेर आरोप लगाएपछि देशमा बहस झनै बढेर गएको थियो । तर कक्रोज पार्टीले झन् आफ्नो कार्यक्रमलाई ताकतपूर्ण बनाउँदै गएको थियो र यो आन्दोलन अहिलेसम्मकै ठूलो आन्दोलनको रूपमा परिचित बनेको थियो ।
जुलाई २०, २०२६ को “संसद चलो” अभियानमा पहिले त प्रशासनले कडा बेरिगेट, ठूलो सङ्ख्यामा सुरक्षा व्यवस्था गरे पनि आन्दोलनकारीहरूले घेरा तोडेर अघि बढे । संसद परिसरमा कडा सुरक्षा व्यवस्था यतिसम्म कि संसद भवनका सबै झ्यालढोकाहरू, परिसरका गेटहरू सबै बन्द गरिन्छन् । संसद नजिकै आइपुग्दा अश्रुग्यास र लाठीचार्ज बर्सिन्छ, कैयौँ विद्यार्थीहरू घाइते हुन्छन् । ६० जनाभन्दा बढी आन्दोलनकारीहरू गिरफ्तार हुन्छन् । यो आन्दोलनमा कैयौँ प्रहरी अधिकारी पनि घाइते हुन्छन् । संसद भवनबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत बाहिरिन्छन् । कतिपयले प्रधानमन्त्री मोदी संसद भवनबाट भागेको आरोप लगाएका थिए।
सरकारले कक्रोज पार्टीको इन्स्टाग्राम बन्द गरिदिनुका साथै प्रचारप्रसारमा समेत प्रतिबन्ध लगाउँछ । तर आन्दोलन झन् चर्किंदै जान्छ । यस्तो समर्थनले आत्तिएको सरकारले आन्दोलन मत्थर पार्न अनेक उपाय अपनाउँछ, तर सचेत जनताको अगाडि सरकार झुक्न बाध्य हुन्छ ।
निट पेपर लिकपछि करिब २० जना विद्यार्थीहरूले आत्महत्या गरेका थिए । जुलाई २० को “संसद चलो” आन्दोलनले सरकारको शिर झुक्यो र कक्रोज पार्टीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच वार्ता भयो ।
शिक्षामा जवाफदेहिता सहित कक्रोज पार्टीले निम्न मागहरू राख्यो ।
१) सोनम वाङचुकको रिहाइ
२) शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
३) आत्महत्या गरेका विद्यार्थीहरूका परिवारलाई क्षतिपूर्तिसहित १ करोडको राशि
४) आन्दोलनमा गिरफ्तार गरिएका सबै क्षेत्रका आन्दोलनकारीहरूको विनासर्त रिहाइ लगायत थिए।
अन्ततः आन्दोलनको सामु मोदी सरकार एक कदम पछि हट्दै जुलाई २५, २०२६ शनिबारका दिन शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिए । राजीनामापछि जन्तरमन्तर र देशका विभिन्न ठाउँमा भएका आन्दोलनकारीहरूले लोकतन्त्रको जीत भन्दै खुसी मनाए । सचेत जनताको अगाडि कुनै पनि शक्ति झुक्न बाध्य हुन्छ भन्ने फेरि एकपटक जन्तरमन्तरको ३६ दिने आन्दोलन र भारतको छात्र आन्दोलनले पुष्टि गरेको छ ।
यहाँ बुझ्नुपर्ने कुरा के छ भने भारतको कक्रोज आन्दोलन नेपालको जेनजी आन्दोलनजस्तो थिएन । सुरुदेखि नै आन्दोलन शान्तिपूर्ण रहेको थियो । नेपालमा झैँ आन्दोलन हाइज्याक गर्ने काम कसैले गरेनन् । दिल्ली प्रहरीले आन्दोलन भड्काउन अनेकौँ प्रयत्न गरेपछि आन्दोलन केही उग्र भएको देखिन्थ्यो । यो आन्दोलनमा नेपालमा झैँ गोली चलेन, कसैका पार्टीका कार्यालय र घर जलेनन् । सरकारी सम्पत्ति, संसद भवन, सर्वोच्च र सिंहदरबार जलेनन् । सबै प्रकारका प्रशासनिक संरचनाहरू, यहाँसम्म कि सेनाले समेत कडा सुरक्षा दियो। विध्वंसात्मक गतिविधि हुन पाएनन् । अथवा विध्वंस मच्चाउने कक्रोज पार्टीको उद्देश्य नै थिएन । नेपाली जेनजी आन्दोलन र भारतमा कक्रोज आन्दोलनले नयाँ पाठ सिकाएको छ ।
३६ दिने आन्दोलन समाप्त हुँदै गर्दा कक्रोज पार्टीका संस्थापक अभिजीत दिपकेले सबै आन्दोलनकारीलाई धन्यवाद दिँदै राम्रोसँग घर जान अनुरोध गरेका थिए । साथै सबै समर्थकहरूलाई इन्टरनेटमार्फत जोडिन, आफ्ना कुरा राख्न अपिल गरे ।
यही साता फेरि सिजेपी कोर टिमको दुई दिनसम्म बसेको बैठकले देशभरि विद्यार्थी आन्दोलन उठाउने, आफ्नो नेटवर्क बढाउने, तर राजनीतिक पार्टी गठन गर्ने कुरा अहिलेको म्यान्डेट नरहेको बताएका छन् । युपी, छत्तीसगढ र झारखण्डमा विद्यार्थीहरूले आ–आफ्नै तरिकाले आन्दोलनको कमान्ड समाल्दै विधान सभा घेराउ कार्यक्रम उपयोगी रूपमा सञ्चालन गरेका छन् ।
यता क्रान्तिकारी प्रगतिशील विद्यार्थी आन्दोलनकी नेतृ आईसाकी राष्ट्रिय अध्यक्ष नेहा वोराले जन्तरमन्तरको ३६ दिने भोक हड्ताल र आन्दोलनपछि भारतको सबै ठाउँमा पुग्ने र आन्दोलन गर्ने बताएकी छन् । आईसाकी राष्ट्रिय अध्यक्ष तथा जेएनयू विद्यार्थी आन्दोलनकी उनी सशक्त नेतृ हुन् । भारतमा क्रान्तिकारी विद्यार्थी आन्दोलन कमजोर बन्दै गइरहेको सन्दर्भमा भारतको कक्रोज जनता पार्टीले जगाएको आन्दोलनले क्रान्तिकारी विद्यार्थी आन्दोलन अब सतहमै तातेको देखिन्छ ।
सिजेपीको आन्दोलनसँग सुरुदेखि नै हातेमालो र ऐक्यबद्धता जनाउँदै नेहा वोराले क्रान्तिकारी विद्यार्थी आन्दोलन अझ तेज पार्दै लगेकी छन् । उनले संसारका मजदुर एक हौँ र इन्क्लाब जिन्दावादका नारा घन्काउँदै भारतको दिल्ली जन्तरमन्तरको ३६ दिने आन्दोलनपछि अहिले झारखण्ड आन्दोलनको ऐक्यबद्धता जनाउन पुगेकी छन् ।
भारतको उडिसा, झारखण्ड, बङ्गाल र केरला जस्ता राज्यहरूबाट कम्युनिस्टहरूको सङ्गठनात्मक अवस्था कमजोर बन्दै आएको छ । पश्चिम बङ्गाल र केरल राज्य कम्युनिस्टको गढ मानिन्थ्यो । तर अहिले नराम्रो हार खानुपरेको सन्दर्भमा जेएनयू विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूमध्ये सक्रिय राजनीतिमा देखिएकी एक मात्र नेतृ हुन् नेहा वोरा । तर उनी एक्लै छैनन्, उनको कोर टिम पनि छ । भारतका सबै राज्यहरूमा घोषणा गरेका कक्रोज जनता पार्टीका सबैभन्दा आन्दोलनहरूमा आफू र आफ्नो टिम पुग्ने उनले बताएकी छन् । यसले कम्युनिस्ट वामपन्थीहरूका लागि ऊर्जा मिल्ने देखिन्छ ।