काठमाडौँ । स्वयम्भु क्लब र द एक्सेल्सियर स्कुलको संयुक्त आयोजनामा ‘स्पोटर््स इन्जुरी प्रिभेन्सन एन्ड एथलेटिक परफर्मेन्स’ विषयक आठसत्रीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
कार्यक्रमको मुख्य प्रशिक्षकका रूपमा राष्ट्रिय महिला फुटबल टोलीकी फिजियोथेरापिस्ट शिला गिरी थिइन् । प्रशिक्षणमा १४ विद्यालयका प्रशिक्षक तथा २ फुटबल क्लबका प्रतिनिधिसहित २६ जना सहभागी रहेका छन् ।
आठ सत्रसम्म सञ्चालन हुने यस प्रशिक्षण कार्यक्रमको उद्देश्य प्रशिक्षकलाई खेल चोटको रोकथाम, वैज्ञानिक प्रशिक्षण विधि, खेलाडीको शारीरिक तयारी, पुन:स्थापना तथा एथलेटिक प्रदर्शन सुधारसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गर्नु बताइएको छ ।
कार्यक्रमका संयोजक महेश मल्ल ठकुरीका अनुसार खेलकुदको ग्रासरुट विकास विद्यालयबाटै सुरु हुने भएकाले यस कार्यक्रमलाई विशेष रूपमा विद्यालयका प्रशिक्षकलाई लक्षित गरिएको हो ।
प्रशिक्षकका क्षमता र दक्षता अभिवृद्धि गर्दै विद्यालयस्तरको खेलकुदलाई अझ व्यवस्थित, सुरक्षित र चलायमान बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।
ठकुरीले स्वयम्भु क्लब र द एक्सेल्सियर स्कुलले यस्ता व्यावसायिक तथा गुणस्तरीय प्रशिक्षण कार्यक्रममार्फत नेपाली खेलकुद क्षेत्रमा दक्ष प्रशिक्षक उत्पादन गर्दै सुरक्षित, वैज्ञानिक र दिगो खेल संस्कृतिको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

