काठमाडौँ । नेपालका सविनकुमार दियालीले एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा कुवेतका खेलाडीलाई पराजित गरेका छन् ।
जोर्डनको अम्मानमा भएको प्रतियोगिताको जुनियर पुरुष ६० केजीमुनि सबिनले कुवेतका अल्रामजी हसनलाई इप्पोनका आधारमा पराजित गरेको टिम व्यवस्थापक नेपाल जुडो सङ्घका महासचिव नेपाल जुडो सङ्घका महासचिव प्रकाशचन्द्र पाण्डेले जनाए । जितसँगै सबिन प्री क्वाटरफाइनलमा प्रवेश गरेका थिए ।
प्री क्वाटरफाइनलमा भने सबिन विश्व वरियतामा चालिसौँ स्थानका कजाकिस्तानका तुर्सिनाली अलिशेरसँग चुके । सबिना बन्दी सहायता नियोग (पाम) का खेलाडी हुन् । पाममा जुडो खेलाडीलाई सूर्यनारायण श्रेष्ठले प्रशिक्षण दिँदै आएका छन् ।
त्यसैगरी, जुनियर पुरुष ६६ केजीमुनि पहिलो चरणमा बाई पाउदै दोस्रो चरणमा पुगेका विशेष विक विश्व वरियतामा चौबिसौँ स्थानमा रहेका ताजकिस्तानका खेलाडीसँग खान्सेत्सु बाजामा पराजित भए । प्रशिक्षकमा कविराम घर्तीमगर रहेका छन् ।
जुडो युनियन अफ एसिया (जेयुए) को आयोजना तथा जोर्डन जुडो महासङ्घको संयोजनमा भएको प्रतियोगितामा विभिन्न २० राष्ट्रका एक सय ७३ खेलाडी सहभागी थिए ।

