कल्पना पौडेल ‘जिज्ञासु’
मानिस किन बाँच्छ?
यो प्रश्न जति सरल देखिन्छ, यसको उत्तर त्यति नै गहिरो छ। कसैका लागि जीवन आफ्ना सपना पूरा गर्ने यात्रा हो, कसैका लागि नाम, पद र प्रतिष्ठाको खोज। तर केही मानिस यस्ता पनि हुन्छन्, जसले आफ्नो खुसीभन्दा अरूको खुसीमा जीवनको अर्थ भेट्छन्। अरूको अनुहारमा मुस्कान देख्दा उनीहरू आफ्ना पीडा बिर्सन्छन्। कसैको बगेको आँसु पुछ्न पाउँदा आफ्नै मन हलुका भएको अनुभूति गर्छन्। कसैको दुखेको घाउमा मलम लगाउन सक्नु नै उनीहरूका लागि जीवनको सबैभन्दा ठूलो उपलब्धि हुन्छ।
म पनि सायद यस्तै स्वभाव बोकेर हिँड्ने मानिसमध्ये एक हुँ। जहाँ पीडा देख्छु, त्यहाँ मन पुगिहाल्छ। जहाँ अभाव देख्छु, त्यहाँ केही गर्न सकिन्छ कि भन्ने सोच स्वतः जन्मिन्छ। कसैको निराश आँखामा आशाको झिल्को देख्न पाएँ भने त्यही मेरो खुसी बन्छ। यही कारणले होला, मैले सधैँ आफ्नो जीवनलाई अरूका लागि उपयोगी बनाउने प्रयास गरेकी छु। साहित्य सिर्जना पनि यही संवेदनाको विस्तार हो—मानिसलाई मानिससँग जोड्ने एउटा आत्मीय सेतु।
तर कहिलेकाहीँ मनभित्र एउटा प्रश्न अत्यन्त गहिरो भएर उठ्छ—अरूका लागि बाँच्ने मानिसलाई समाजले किन सहज रूपमा बाँच्न दिँदैन?
किन उसले सम्मानभन्दा बढी उपेक्षा भोग्नुपर्छ?
किन उसको समर्पणभन्दा पहिले उसको कमजोरी खोजिन्छ?
किन प्रेरणा दिनुपर्ने ठाउँमा निरुत्साहका आवाजहरू बढी गुञ्जिन्छन्?
यी प्रश्नहरू केवल मेरा मात्र होइनन्; समाजका लागि निस्वार्थ भावले केही गर्न खोज्ने असंख्य मानिसका साझा प्रश्न हुन्।
हामी बराबरी, चेतना र प्रगतिका कुरा गर्छौँ। महिलाको सशक्तीकरणका नारा पनि बुलन्द पार्छौँ। तर व्यवहारमा जब कुनै महिला आफ्नो मेहनत, सिर्जना र समर्पणका आधारमा अगाडि बढ्न खोज्छे, तब उसलाई हौसला दिनुको सट्टा किन उसका पाइला तान्ने प्रयास गरिन्छ? उसका कामको निष्पक्ष मूल्याङ्कन गर्नुको सट्टा किन उसको मनोबल कमजोर पार्ने वातावरण निर्माण गरिन्छ?
विचारसँग असहमति हुन सक्छ। सिर्जनाको समीक्षा पनि आवश्यक हुन्छ। तर कसैको सम्मानमा चोट पुर्याएर आफूलाई ठूलो ठान्ने मानसिकता सभ्य समाजको परिचायक हुन सक्दैन।
सबैभन्दा ठूलो विडम्बना त त्यतिबेला देखिन्छ, जब आफूलाई प्रगतिशील ठान्ने मानिसहरू नै अरूको प्रगति स्वीकार गर्न सक्दैनन्। अरूको उज्यालोले आफ्नो उज्यालो ओझेलमा पर्छ भन्ने भ्रमले मानिसलाई यति साँघुरो बनाइदिन्छ कि उसले गुणभन्दा दोष, समर्पणभन्दा कमजोरी र सिर्जनाभन्दा व्यक्ति मात्र देख्न थाल्छ। वास्तवमा यही मानसिकता समाजको गहिरो रोग हो।
आज समाजलाई कमजोर बनाइरहेको कुरा केवल आर्थिक अभाव वा स्रोतको कमी मात्र होइन; अरूको सफलता सहन नसक्ने प्रवृत्ति पनि हो। जहाँ सम्मान हुनुपर्ने ठाउँमा अपमान हुन्छ, जहाँ प्रोत्साहन हुनुपर्ने ठाउँमा अवरोध खडा गरिन्छ, जहाँ विश्वास हुनुपर्ने ठाउँमा पूर्वाग्रहले स्थान ओगट्छ, त्यहाँ प्रतिभा मात्र होइन, मानवीयता नै घाइते हुन्छ।
सेवा गर्ने मानिस पत्थर होइन। उसलाई पनि चोट लाग्छ, ऊ पनि थाक्छ। उसलाई पनि कहिलेकाहीँ एउटा आत्मीय शब्द, विश्वासको स्पर्श र साथको आवश्यकता पर्छ। यदि अरूको पीडा कम गर्ने हातलाई नै बारम्बार चोट पुर्याइयो भने, भोलि त्यही हातले कसरी अर्कोको आँसु पुछ्ने? यदि अरूका लागि बाँच्ने मनलाई नै निरन्तर निराश बनाइयो भने, त्यो मनले समाजमा आशा कसरी बाँड्ने?
हामी प्रायः मानिसको अनुहारमा देखिने मुस्कानलाई नै उसको वास्तविक अवस्था ठान्छौँ। तर बाहिर हाँसिरहेको मानिस भित्र असह्य पीडा बोकेर बाँचिरहेको हुन सक्छ। सबै कुरा बुझेर पनि प्रतिकार नगर्नु कमजोरी होइन; त्यो त सहनशीलता, संयमता र सम्बन्ध जोगाउने परिपक्वताको प्रमाण हो। तर यही मौनतालाई कमजोरी ठानेर बारम्बार मन दुखाइरहनु संवेदनहीनताको परिचय हो।
विशेषगरी धेरै महिलाहरू आफ्ना आँसु र पीडालाई मनभित्रै थुनेर परिवार, समाज र आफ्ना जिम्मेवारीहरू निर्वाह गरिरहेका हुन्छन्। उनीहरूको मौनता हारको संकेत होइन; त्यो धैर्य, साहस र आत्मबलको अर्को रूप हो।
जीवनले मलाई एउटा गहिरो सत्य सिकाएको छ—माया बाँड्दा माया घट्दैन, सम्मान दिँदा सम्मान सानो हुँदैन, र अरूलाई अघि बढाउँदा आफ्ना पाइला पछाडि पर्दैनन्। त्यसैले आज पनि मेरो विश्वास यही छ कि मानिसले मानिसलाई उठाउन सिक्नुपर्छ, गिराउन होइन।
आज पनि कसैको दुःख देखेर चुप लागेर बस्न मेरो मनले मान्दैन। कसैको बगेको आँसु पुछ्न मन लाग्छ। दुखेको घाउमा मलम लगाउन मन लाग्छ। निराश अनुहारमा आशाको मुस्कान देख्न मन लाग्छ। सायद यही मेरो कमजोरी पनि हो र यही मेरो शक्ति पनि। किनकि मैले आफ्नो खुसीभन्दा अरूको खुसीमा जीवनको सार खोजेकी छु।
तर समाजसँग मेरो एउटा विनम्र प्रश्न छ—अरूका लागि बाँच्ने मानिसका लागि आखिर कसले बाँच्ने?
उनीहरूलाई पनि साथ चाहिन्छ, विश्वास चाहिन्छ, आत्मीयता चाहिन्छ। किनकि सेवा गर्ने मनलाई पनि कहिलेकाहीँ सहाराको आवश्यकता पर्छ।
सायद यही प्रश्नको उत्तर खोज्नु आजको समाजको सबैभन्दा ठूलो जिम्मेवारी हो।
हामीले अब यस्तो संस्कार निर्माण गर्नुपर्छ, जहाँ राम्रो काम गर्ने मानिसलाई शङ्काले होइन, विश्वासले हेरियोस्। जहाँ महिलाको सफलता कसैको हार नभई सम्पूर्ण समाजको उपलब्धि ठानियोस्। जहाँ कसैको सिर्जनालाई दबाउने होइन, अझ फक्रिन र फुल्न सहयोग गर्ने वातावरण निर्माण होस्।
किनकि समाजलाई महान् बनाउने कुरा ठूल्ठूला भाषण होइनन्; एउटाको पीडामा अर्कोको मन दुख्ने संवेदना, अरूको सफलतामा खुसी हुन सक्ने उदारता, र निस्वार्थ भावले बाँच्ने मानिसहरूको सम्मान गर्ने संस्कार हो।
समाज साँच्चै सभ्य त्यही दिन हुनेछ, जुन दिन अरूका लागि बाँच्ने मानिसले पनि समाजबाट आत्मीयता, विश्वास र सम्मान प्राप्त गर्नेछ। त्यही दिन हामीले प्रगतिशील समाजको वास्तविक अर्थ बुझ्न सकेको ठहरिनेछ।
खजुरा, बाँके