काठमाडौं, २७ जेठ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आधार र प्रमाणबिना संसदीय छानबिन समिति गठनको माग गर्नु उचित नभएको बताएका छन्। बुधबार अर्थ समितिको बैठकमा उनले अवैध काम, उजुरी वा प्रमाण नभई छानबिनको माग गर्नु संसदीय प्रक्रियाको दुरुपयोग हुने बताए।
आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको आरोप लगाउँदै विपक्षी दलहरूले संसदीय छानबिन समिति गठन र अर्थमन्त्रीको राजीनामा माग गरेका छन्। संसद्मा पेस गरिएको ४६४ पृष्ठको आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको ४४८ पृष्ठको संस्करणबीच फरक देखिएपछि विवाद उत्पन्न भएको हो।
संसदीय जानकारहरूका अनुसार संसद्मा पेस भइसकेको विधेयक संशोधन गर्न संसद्को स्वीकृति आवश्यक पर्छ। यही विषयलाई लिएर नेकपा (एमाले) ले संसदीय छानबिनको माग गरेको छ भने राप्रपा र श्रम संस्कृति पार्टीले अर्थमन्त्रीको राजीनामा माग गरेका छन्।