काठमाडौँ । आगामी २०८३ जेठ ३१ गते आइतबार अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) को तेस्रो राष्ट्रिय भेला हुने भएको छ ।
महासचिव भीष्म जोशीका अनुसार नेपाली समयअनुसार साँझ ६ बजे भर्चुअल माध्यमबाट सो भेला हुन थालेको हो ।
जोशीका अनुसार यतिखेर भेलाको तयारी घनीभूत प्रकारले भइरहेको छ ।
‘अन्पाको राष्ट्रिय भेलाको आन्तरिक तयारी चलिरहेको छ’ उहाँले भन्नुभयो– ‘घोषणापत्र र विधानमाथिको संशोधन प्रस्ताव तथा प्रगति प्रतिवेदन तयार पार्ने काम भइरहेको छ ।’
उहाँले सङ्गठनको नाम नै परिवर्तन हुने गरी आन्तरिक छलफल चलिरहेको जानकारी दिनुभयो ।
महासचिव जोशीले भन्नुभयो– ‘सामन्तवाद–साम्राज्यवाद विरोधी प्रगतिशील साहित्यिक चेत राख्ने विश्वभरिका नेपाली साहित्यकारलाई सङ्गठित गर्ने गरी अन्पाको नाम परिवर्तन भइरहेको छ ।’
सँगसँगै देशव्यापी रूपमा सदस्यता अभियान पनि चलिरहेको उहाँले बताउनुभयो ।
