काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा अथवा घण्टीपार्टी । चटक देखाउनमा सिपालु । यसका लागि पुरस्कार नै दिए पनि फरक नपर्ने । जसका अध्यक्ष सहकारी ठगीमा विभिन्न जिल्लाका अदालतमा बिगो बुझाउँदै हिँडेका छन्, त्यही पार्टीले सुशासनको नारा बाँड्दै हिँडेको छ ।
त्यस्तै अर्को चटक आज २०८२ फागुन ३ गते आइतबार देखिएको छ । प्रसङ्ग हो चुनावी प्रतिबद्धताको । अरू पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरिरहँदा यो पार्टीले आफूलाई फरक देखाउन ‘नागरिक करार’ भनेर पाँचओटा प्रतिबद्धता सार्वजनिक गरेको छ ।
तीनमहले फम्र्याटमा प्रस्तुत गरिएको उक्त ‘करार’ मा पहिलो कोलममा ‘प्राथमिकता’, दास्रो कोलममा ‘आजको अवस्था’ र तेस्रो कोलममा ‘हाम्रो लक्ष्य’ उल्लेख गरिएको छ । प्राथमिकताका पाँच बुँदामा १. ‘सदाचार र असल शासन’, २. ‘मध्यमवर्गीय विस्तार’, ३. ‘काम, काम, काम’, ४. ‘कनेक्टिभिटी’ र ५. ‘प्रवास’ रहेका छन् ।
प्राथमिकताका यी विषयबारेको चर्चा यहाँ नगरौँ किनकि हामी सबैलाई थाहा छ– यो चुनावी ‘करार’ हो । नेपालका यस्ता चुनावी ‘करार’ माथि कसले पो विश्वास गर्दछ र ?
करारको अन्तिममा भनिएको छ– तपाईंहरूले हामीलाई एकल बहुमत दिलाएको अवस्थामा पनि करारबमोजिमका सर्त डेलिभरीसहित पाँच वर्षभित्र बुझाउन नसकी तपाईं नागरिकलाई मर्का पर्न गएमा, संविधान, मौजुदा कानुन र सामाजिक करारअनुसार हाम्रो “राजनैतिक नैतिक र पद” बाट अर्कोपटकको निर्वाचनमा सजाय दिई असुलउपर गरिलिनुहोला ।’
यो वाक्यको सरल अर्थ यही हुन्छ– करारअनुसार काम हुन नसके निर्वाचनमार्फत पाँच वर्षपछि सजाय दिनुहोला । भएन त चटक ? पाँच वर्ष सजाय दिने कुरा त उनीहरूले नचाहे पनि जनताले दिइहाल्छन् ।
यस सन्दर्भमा एउटा बिम्ब प्रस्तुत गरौँ ।
एक जना पसलेले सडकछेऊ सुन्तला विक्री गरिरहेका रहेछन् । एक जना ग्राहकले कारोबार कस्तो छ भनेर सोधेछन् । विक्रेताले भनेछन्– छैन, खासै छैन । ग्राहकले भनेछन्– हुन्छ । साँझ पर्यो भने पसल उठाउनुहोला ।
घण्टीपार्टीको चटक पनि यस्तै देखिएको छ ।
रास्वपा सरकारमा सामेल भएर उपप्रधानमन्त्रीसमेत बनेको पार्टी हो । स्वयम् पार्टी सभापति लामिछाने मन्त्री रहँदाको तालुकवाला मन्त्रालयले पासपोर्ट छपाइ प्र्रकरणमा कानुनअनुसार नगरेको विषय विचाराधीन छ । भदौ २४ गतेको विध्वंसमा सामेल कैयौँ व्यक्ति घण्टीपार्टीका उम्मेदवारसमेत बनेका छन् । देशैभरिका रास्वपाका उम्मेदवारको डिएनए गर्ने हो भने कुशासन, अनियमितता र आचरणका थुप्र्रै प्रमाण पाउन सकिन्छ ।
भदौ २४ गते सभापति लामिछाने आफैले जेल तोडेर बाहिर निस्के, पछि आफै फर्केर जेल गए । सहकारी ठगीको विषय त माथि नै उल्लेख भइसक्यो । आज त्यही पार्टीले सुशासनको बढ्तै चटक गरिरहेको छ ।
काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह रास्वपामा प्रवेश गरेर त्यसको नेता तथा प्रधानमन्त्रीको दाबेदार घोषणा गरिएका छन् । उनको पुरानो तर प्रचलित र्यापगीत छ– ‘म देश हाँसेको हेर्न चाहान्छु ।’ तर व्यवहारमा के देखियो ? सिंहदरबारसहित देशका ऐतिहासिक धरोहर जलिरह्यो, महानगरपालिकाले दमकलसमेत पठाएन । ललितपुर नगरपालिकाले दमकल पठाएपछि मात्र आगो निभाउन सकियो ।
यो घटनालाई यसरी भन्न सकिन्न र : ‘म देश जलेको हेर्न चाहान्छु’ ?
