काठमाडौँ । गृह मन्त्रालयमा बसेको सुरक्षा प्रमुखहरूको बैठकमा गृहमन्त्रीले चार सुरक्षा चुनौतीमाथि छलफल गरेका छन् ।
२०८२ असोज २३ बिहीबार बसेको बैठकमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक लगायतविरुद्ध आएको जाहेरीको काउन्टरमा परेको निवेदनले ल्याउने चुनौतीसहितका विषयमा छलफल भएको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार दिउँसो नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्की र नेपाली सेनाका प्रतिनिधिलाई बोलाएका थिए ।
त्यसक्रममा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौतीबारे छलफल भएको बैठकमा सहभागी एक अधिकारीले बताए ।
‘निर्वाचन मिति घोषणा भएको अवस्थामा सुरक्षामा आइपर्न सक्ने चुनौती, जेनजीका नाममा विभिन्न समूहले गर्न खोजिरहेको प्रदर्शनका विषयमा समेत कुराकानी भएको छ,’ उनले भने, ‘नेताहरूले दिइरहेको अभिव्यक्तिले ल्याउन सक्ने जोखिमबारे समेत कुरा भएको छ ।’