काठमाडौँ । सिधाकुरा डटकम र यसका सम्पादक नवीन ढुंगानालाई समाचार सम्प्रेषण गरेकै आधारमा भौतिक आक्रमणको धम्की आएको समाचार सिधाकुराले प्रकाशन गरेको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको घरमा भेटिएको जलेको अवस्थाको रकमबारे रिर्पोटिङ गरेको भन्दै एक अपरिचित व्यक्तिले सिधाकुरामा आगो लगाउने र सम्पादकलाई ज्यान लिने धम्की दिएको समाचारमा उल्लेख छ ।
‘बिहीबार बिहानैदेखि सानू भाइ नामक फेसबुक अकाउन्टबाट सिधाकुराको आधिकारिक म्यासेन्जरमा उक्त खाले धम्कीहरू आइरहेका छन्’ सम्पादक नवीन ढुंगानाले समाचारमा लेखेका छन् ।
म्यासेन्जरमा पठाइएको धम्कीपूर्ण म्यासेजमा देउवाको घरमा जलेको पैसाबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गरिएको दाबी गरिएको छ । यस्तै, समाचार प्रकाशन प्रसारण नरोके सिधाकुराको कार्यालयमा डिजेल खन्याएर आगो लगाउने र समाचार प्रस्तुत गर्नेलाई छाला काढ्ने धम्कीमा भनिएको छ ।