धनविर पुन मगर
Advertisement
युगदर्शन, तिमी सूर्यझैँ उदाउँछौ
अज्ञानका बादल चिर्दै,
ज्ञानको प्रभा छरिदै
हृदयका कुना–कुना उज्यालो बनाउँदै।
तिमी वसन्तझैँ फुल्छौ
शब्दका फूलहरूमा,
पाठकको मन–बगैँचामा सुवास भरिदै
समाजलाई चेतनाको रंगले रंगाउँदै।
तिमी सागरझैँ गहिरा छौ
विचारका छालहरूमा,
जहाँ सत्यका मोतीहरू चम्किन्छन्
र असत्यका धुला–कणहरू धोइन्छन्।
तिमी दीपकझैँ जलिरह,
अन्धकारले ढाक्न नसकोस् कहिल्यै,
तिमी कलमझैँ बगिरह,
अन्यायलाई काट्ने धार बन्दै।
सातौँ वर्षको यो बिहान
तिमीलाई शुभकामना अर्पण गर्दै,
यात्रा रहोस् अनन्त क्षितिजसम्म
समाजलाई उज्यालो दिने दीपस्तम्भ भएर।