काठमाडौँ । लिपुलेकमाथि चीन र भारतले हस्तक्षेप गरेपछि कास्कीका पाँच राजनीतिक दलले त्यसका विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
२०८२ भदौ ७ गते शनिबार उनीहरूले सो कार्यक्रम सम्पन्न गरेका हुन् ।
राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकालको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा राजमो केन्द्रीय सदस्य शङ्कर बराल, नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसी, नेकपा कम्युनिस्ट पार्टी कास्कीका सचिव उमेश सी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य नारायण अधिकारी, नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का विशाल तिमिल्सिना र वाम बुद्धिजीवी अधिवक्ता तिलक पराजुलीले मन्तव्य राख्नुभएको थियो ।
वक्ताहरूले लिपुलेकलाई व्यापारिक नाका बनाउने गरी चीन र भारतले गरेको सहमति खारेज गरिनुपर्ने र त्यसका लागि नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।
