काठमाडौँ । चीन र भारतले नेपालको लिपुलेकलाई अतिक्रमण गर्ने गरी द्विपक्षीय सहमति गरेपछि नौ वामपन्थी सङ्गठन त्यसको विरुद्धमा एकजुट भएका छन् ।
२०८२ भदौ ६ गते बिहीबार संयुक्त प्रेसविज्ञप्ति जारी गर्दै उनीहरूले सो धारणा व्यक्त गरेका हुन् ।
“उक्त भूभाग ऐतिहासिक कालदेखि नै नेपालको नक्सा, आधिकारिक कागजात तथा विभिन्न अकाट्य प्रमाणले नेपालकै भूमि हो भन्ने कुरा पुष्टि भएको कुरालाई बेवास्ता गर्दै भारत र चीनले सहमति गर्नु निन्दनीय छ” विज्ञप्तिमा भनिनएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ– “नेपालको सार्वभौम भौगोलिक अखण्डतामाथि हस्तक्षेप हुने गरी नेपालको भूभागमा दुई देशले व्यापारिक नाका बनाउने सहमतिको हामी स्वतन्त्र तथा सार्वभौम नेपालीको तर्फबाट जोडदार विरोध गर्दछौँ । साथै तत्काल यसको खारेजीका लागि नेपाल सरकारसित पहल गर्न माग गर्दछौँ ।”
विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टी (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, क्रान्तिकारी कम्युनिस्ट पार्टीका सन्तबहादुर नेपाली, नेपाल कम्युनिस्ट पार्टीका चिरन सी, नेकपा (बहुमत) का कृष्णप्रसाद धमला, नेकपा (एकीकृत समाजवादी) का साध्यबहादुर भण्डारी, नेपाल कम्युनिस्ट पार्टीका कृष्णहरि भट्ट, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका राजकुमार हिङमाङ र अखिल नेपाल कम्युनिस्ट पार्टीका लक्ष्मण उप्रेतीको हस्ताक्षर रहेको छ ।
