जस्पुर (प्युठान) । प्युठान जिल्ला माण्डवी गाउँपालिकाका विद्युत् परियोजना प्रभावित क्षेत्रका वासिन्दामाझ छलफल कार्यक्रम सम्पन्न भएको छ ।
२०८२ साउन ७ गते बुधबार राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।
पालिकाको वडा नं. ३ दारिमचौरमा रहेको १२ मेगावाट क्षमताको जलविद्युत योजनाको प्रभावित क्षेत्रबाट साविक नयाँगाउँ गाउँ विकास समितिका वडा नं. ४, ५, ६ र ७ लाई ३० वर्षपछि हटाइएपछि उनीहरूले हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । सङ्कलित हस्ताक्षर साउन ५ गते माण्डवी नगरपालिका र बुटवल पावर कम्पनीको पालिकास्थित कार्यालयलाई बुझाइएका थियो ।
ज्ञापनमा उक्त चारै वडालाई प्रभावित क्षेत्रमा पुनः कायम गर्नुपर्ने, लोडसेडिङ बन्द गर्नुपर्ने, थ्री फेज लाइन वितरण गर्नुपर्ने र जस्पुरस्थित महसुल सङ्कलन केन्द्रको लेखापरीक्षण गरिनुपर्ने माग राखिएको थियो ।
‘पालिका र कम्पनीले एक हप्ताभित्र समस्या समाधान गर्ने जानकारी दिएको छ’ राजमो प्युठानका अध्यक्ष न्यौपानेले भन्नुभयो– ‘सो समयभित्र समस्या समाधान नभए स्थानीय वासिन्दाले सङ्घर्षको कार्यक्रम सञ्चालन गर्नेबारे छलफल भयो ।’
छलफल कार्यक्रममा स्थानीय वासिन्दासँगै अखिल नेपाल युवक सङ्घका केन्द्रीय कोषाध्यक्ष कमल पौडेल, राजमो नेताहरू लालबहादुर राउत, नरेन्द्र खड्कालगायतको उपस्थिति थियो ।
सङ्घर्षका कार्यक्रम राजमो माण्डवी गाउँ समितिको ब्यानरमा सञ्चालन गरिएको छ ।