प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सम्बोधनबारे प्रतिक्रिया दिनुभएको छ– ॅप्रधानमन्त्री ओलीको त्यत्रो विरोध गर्नेले पटक पटक बालकोट (ओली निवास) किन जाने ?
युगदर्शन मिडियालाई २०८२ असार ३१ गते भिडियो प्रतिक्रिया दिँदै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
‘प्रचण्डले गरेको ओलीको आलोचना पूरै असत्य होइन’ उहाँले भन्नुभयो– ‘तर यति धेरै कुरा गर्ने प्रचण्डले ओलीलाई नचिनेको हो र ?’
उहाँले अगाडि भन्नुभयो– ‘प्रधानमन्त्री ओलीको त्यत्रो विरोध गर्नेले आफैले बनाएको प्रतिगमन विरोधी पाँचदलीय गठबन्धनलाई छोडेर दुई/दुईपटक बालकोट किन जाने ?’
ओलीबाट प्रचण्डले पटक पटक धोका खाएको सत्य रहेको बताउँदै उहाँले पटक पटक बालकोट जानुलाई अस्वाभाविक बताउनुभयो ।
अध्यक्ष केसीले प्रचण्डप्रति ओलीको बारेमा बोलिरहँदा आफ्नो चरित्र र विगत बिर्सेको आरोप लगाउनुभयो ।
‘शान्तिप्रक्रियामा आएपछि चार पल्ट उहाँहरू सरकारमा जानुभयो, तीनपटक प्रचण्ड, एकपटक बाबुराम भट्टराई’ उहाँले भन्नुभयो– ‘उहाँहरूले के दिनुभयो जनतालाई ? भ्रष्टाचार ?’
कथित जनयुद्धबाट फर्केपछि माओवादीले संसद्मा आएर एमसिसी स्वीकारेको प्रसङ्गसमेत उहाँले जोड्नुभयो ।
जति कुरा गरे पनि प्रचण्डलाई चाहिने सत्ता, शक्ति र आयआर्जन नै भएको उहाँको भनाइ थियो ।
‘आफू भैँसीपूजा पनि गर्न तयार, भारतमा गएर गेरुवस्त्र पहिरिन तयार, मन्दिरमा लम्पसार पनर्न पनि तयार’ उहाँले भन्नुभयो– ॅयस्ता हुन्छन् कम्युनिस्ट ? कम्युनिस्टको नामबाट ठगी किन गर्ने ?’
सांसद केसीले यही सत्तामा बस्नेबाहेक प्रचण्डमा अरू चिन्ता नदेखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘प्रचण्डलाई नचिनेका, नबुझेका मानिसमा त भ्रम पर्ला, हामी त सँगै बसेका छौँ उनीसँग, उनलाई देखेका, चिनेका छौँ ।’
प्रचण्ड लोकतन्त्रका भीष्मपितामह होइनन् ।
अध्यक्ष केसीले संसद्मा दाबी गरेजस्तो प्रचण्ड लोकतन्त्र, गणतन्त्रका भीष्मपितामह नभएको बताउनुभयो ।
‘माओवादीहरू लोकतन्त्र, गणतन्त्रमा आउनु सकारात्मक पक्ष हो’ उहाँले भन्नुभयो– ‘तर प्रचण्डले आफूलाई लोकतन्त्र, गणतन्त्रको भष्मपितामह भन्नुको अर्थ छैन ।’
माओवादीको चुनबाङ बैठकको प्रसङ्ग कोट्याउँदै उहाँले भन्नुभयो– ‘बरु बहुदल पक्षधरसँग मिलेर हामीले राजावादीको विरोधमा जानुपर्दछ भन्ने लाइन बाबुराम भट्टराईको हो ।’
चुनबाङ बैठकमा मोहन वैद्य अनुपस्थित भएका बेला माओवादीले सो निर्णय गरेको उहाँले स्मरण गर्नुभयो ।
‘माओवादीको लोकतन्त्र, गणतन्त्र ल्याउनमा भूमिका छ तर कमान्डर नै मै हुँ भन्ने कुरा झुट हो’ उहाँले भन्नुभयो– ‘लोकतन्त्र, गणतन्त्र ल्याउने आन्दोलनमा हामी छौँ, काङ्ग्रेस छ, एमाले छ ।’
चुनबाङ बैठकअघि उनीहरूले बहुदल पक्षधर काङ्ग्रेस, एमाले, राष्ट्रिय जनमोर्चाकै कार्यकर्तामाथि दमन गरेको स्मरण गर्न प्रचण्डसित आग्रह गर्नुभयो ।