काठमाडौ । देशका ७३ जिल्लाका १६ सय बढीलाई डेङ्गु सङ्क्रण भएको तथ्याङ्कसँगै त्यो सङ्ख्या ६० हजार पुग्न सक्ने देखिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार समयमै सावधानी अपनाउन नसके डेङ्गुले महामारी रूप लिन सक्नेछ ।
महाशाखाले भने डेङ्गु प्रकोपबाट ६० हजारभन्दा बढी बिरामी हुन सक्ने अनुमान गर्दै त्यसअनुसारको कार्ययोजना तयारीसमेत गरिसकेको दाबी गरेको छ ।
डेङ्गु फैलने समय आएकाले जति बेला पनि जुनसुकै ठाउँमा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिने सक्ने हुँदा सचेत रहन किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालको सुझाव छ ।
साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रामा डेङ्गु सङ्क्रमण बढ्ने उच्च जोखिम रहन्छ ।
डा। दाहालका अनुसार हालसम्म ७३ जिल्लाबाट १६ सयको हाराहारीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । त्यसका बाबजुद ४० देखि ८० प्रतिशत बिरामी उपचारको दायरामा नआउने उनी बताउँछन् ।
‘तथ्याङ्कमा डेङ्गु सङ्क्रमण कम देखिएको छ तर १० हजारभन्दा बढी बिरामी उपचारको दायरामा आएका छैनन् । सङ्क्रमण फैलिने सम्भावना उच्च छ’ उनले भने– ‘डेङ्गु बढ्ने अनुमानका साथ कार्ययोजना तथा प्रदेशसँग समन्वय गरी डेङ्गु नियन्त्रण गर्ने तयारी गरिएको छ ।
यो आर्थिक वर्षका लागि डेङ्गु नियन्त्रण गर्न करिब १० करोड बजेट विनियोजन छ ।’
ठ्याक्कै कति सङ्क्रमित पुग्छन् भनी सङ्ख्या नै किटान गर्न नसकिने बताउँदै उहाँले भन्नुभयो– ‘मानिसले कसरी सावधानी अपनाउन सक्छन् भन्नेले त्यसलाई यकिन गर्ने हो । उक्त स्थानमा डेङ्गु सङ्क्रमण गराउने लामखुट्टे छन् भन्नेले त्यो यकिन गर्छ ।’
गत वर्षझैँ मानिसले सावधान नअपनाउने हो भने यो वर्ष अवश्य नै डेङ्गु सङ्क्रमण बढ्नेमा कुनै पनि दुईमत नरहेको उनको तर्क छ ।
बढी सङ्क्रमण गण्डकीमा, कम कर्णाली
महाशाखाका अनुसार हालसम्म कुल एक हजार छ सय ७३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो एक साता मात्रै ७१ जना नयाँ सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेशमा सबैभन्दा धेरै २० जना नयाँ सङ्क्रमित भेटिएका छन् भने कर्णालीमा सबैभन्दा कम एक जना मात्र पुष्टि भएका छन् ।
बागमती प्रदेशमा चार सय चार, गण्डकीमा तीन सय ५८, कोशीमा तीन सय ३४, लुम्बिनीमा दुई सय ७८, सुदूरपश्चिममा दुई सय ३२, कर्णालीमा ३६ र मधेसमा ३१ जना सङ्क्रमित छन् ।
महाशाखा (इडिसिडी) को तथ्याङ्क अनुसार गत वर्ष ४५ हजार बढीलाई डेङ्गु सङ्क्रमण भएको थियो । सङ्क्रमणबाट हालसम्म १५ जनाले ज्यान गुमाएका थिए । (स्वास्थ्य खबर)