काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक आयोगका ५२ जना पदाधिकारीको नियुक्ति सदर गर्ने फैसला गरेको छ । संवैधानिक इजलासका न्यायाधीशहरूको राय बाझिएपनि उक्त नियुक्ति सदरको फैसला गरेको हो ।
संवैधानिक इजलासका दुईजना न्यायाधीशले भने ५२ जना पदाधिकारीको नियुक्ति बदर गर्नुपर्ने राय राखेका थिए । इजलासका तीन जनाले नियुक्ति सदर गर्ने राय राखेका थिए । त्यसैले, तीन जना न्यायाधीशको मतका आधारमा नियुक्ति सदर भएको हो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नहकुल सुवेदीले माघ ०७७ मा नियुक्त भएका ३२ जना पदाधिकारीको हकमा नियुक्ति बदर हुनुपर्ने राय राखेका थिए ।
संवैधानिक इजलासमा न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा र कुमार चुडालले नियुक्ति सदर गर्नुपर्ने राय राखेका थिए । त्यसैले, तीनजना न्यायाधीशले राय सदर गर्नुपर्ने पक्षमा देखिएकोले बहुमतका आधारमा ५२ जनाको पदाधिकारीको नियुक्ति सदर भएको हो । इजलासका तीन न्यायाधीश प्रधान, शर्मा र चुडालले संघीय संसद्को अधिवेशन नचलेको अवस्थामा अध्यादेश ल्याउनु जायज भएको राय दिएका छन् ।