काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा माओवादी केन्द्र बीच तत्काल पार्टी एकता नहुने निष्कर्ष नेत्रविक्रम चन्द ‘विप्लव’ले निकालेका छन् ।
केही दिन अघि नेकपाका महासचिव विप्लवले खुमलटारमा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेपछि तत्काल एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको बताइएको छ ।
नेकपाका प्रवक्ता विश्वकर्माका अनुसार समाजवादी मोर्चाको बैठक, पार्टी एकता तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न महासचिव विप्लव र आफू असार ७ गते प्रचण्ड निवास पुगेका थिए । भेटका क्रममा दुई नेताबिच पार्टी एकतामा भएको ढिलाइ, माओवादीबिच भएको अन्तरविरोध लगायत विषयमा छलफल भएको विश्वकर्माले बताए ।
‘माओवादीसँगको एकता सैद्धान्तिक रूपमा सम्भव छ । नीतिगत र व्यावहारिक रूपमा समाप्त भइसकेको छ । माओवादीकै कारण एकता टर्यो । हामीले त केन्द्रीय समिति बैठकबाट एकता गर्ने निर्णय गरेका थियौँ’, उनले भने, ‘माओवादीभित्रको अन्तरविरोध र प्रचण्डको अनिच्छाका कारण सम्भव भएन ।’