काठमाडौँ । वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध पाँच करोड रुपैयाँ बढी बिगो मागदाबी भएको छ ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछाने विरुद्ध आज असार १ गते पाँच करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दर्ता भएको हो ।
लामिछानेसहित २९ जनालाई प्रतिवादी बनाइएको यो सहकारीको एक अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन भएको दाबी गर्दै मुद्दा दायर भएको छ ।
यसअघि प्रहरीले वैशाख १४ गते अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय पर्सामा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । मुद्दा दायर गरिएका लामिछाने अहिले रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा छन् ।
सानो पाइला सहकारीका पूर्व सञ्चालक तथा संरक्षक जी.बी. राई हुन् । तत्कालीन वीरगञ्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब आठ सय बचतकर्ताको एक अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो ।
सहकारीले ऐन विपरीत सदस्यसमेत नरहेका वीरगञ्जबाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप लागेको छ । वचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरेर अपचलन गरेको पाइएको छ ।
यो सहकारीबाट जी.बी. राई सञ्चालक रहेको नेचर हब इन्टरनेसनलाई एक करोड ३७ लाख, नेचर नेस्ट प्रालिलाई एक करोड ८५ लाख र स्प्रिङ वुड रियल स्टेटलाई एक करोड एक लाख कर्जा प्रवाह गरिएको देखिएको छ ।