काठमाडौँ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक (एमडी) संगीता पहाडी र पूर्वप्रबन्ध निर्देशक सुनील पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्कामा भएको घोटालामा विशेष अदालतमा आइतबार दायर गरेको अभियोगपत्रमा ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ बिगो दाबी गरेको छ।
मुद्दामा टेलिकमका प्राविधिक प्रमुख प्रतिभा श्रेष्ठ पनि अभियुक्त कायम भएका छन्। यस्तै राजेन्द्र श्रेष्ठ, धवीन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, विनिता श्रेष्ठ, अमूल प्रधान, राजीवकुमार केसी, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, शंकरकुमार श्रेष्ठ, परमात्मा भट्टराई, शैलेस श्रेष्ठ पनि यस मुद्दामा अभियुक्त कायम भएका छन्।
चिनियाँ ठेकेदार कम्पनी, उक्त कम्पनीका सिनियर डाइरेक्टर लङ योङ र म्यानेजर हुवाङ ओई पनि अभियुक्तको सूचीमा छन्।
नेपाल टेलिकमको बिलिङ प्रणाली, मर्मत शुल्कलगायतमा भ्रष्टाचार भएको भन्दै अख्तियारले मुद्दा लगेको हो।